अखिल नेपाल फुटबल संघ (एन्फा) कोरोना महामारीका कारण लामो समय रोकिएको फुटबल गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ। एन्फा अहिले कोरोनाको कारण रोकिएको सन् २०२२ को विश्वकप छनोट खेल, सहिद स्मारक ‘बी’, ‘सी’ डिभिजन लिग, महिला लिग, प्रदेश लिग र पुरुषको राष्ट्रिय लिगलगायत प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको हो। एन्फाले ‘बी’ र ‘सी’ डिभिजन लिगको मितिसमेत घोषणा गरेर तयारी थालेको छ। एन्फाले ‘बी’ डिभिजन लिग आगामी फागुन ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। नौ महिनाअघि बीचमै रोकिएको लिगलाई पुनः सञ्चालन गर्ने निर्णय गरिएको र लिगका लागि आवश्यक तयारीसमेत सुरु भएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए।
एन्फाको लिग कमिटीले क्लबहरूको छलफलपछि लिग पुनः सञ्चालन गर्ने तयारी गरेको हो। फुटबललाई लयमा फर्काउन र नयाँ माहोल सिर्जना गर्न विस्तारै प्रतियोगिता र अन्य गतिविधि सञ्चालन गर्दै जानेछौं। एन्फाले विश्व फुटबल महासंघ (फिफा) र नेपाल सरकारले तय गरेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गरेर सबैखाले गतिविधि सञ्चालन गर्नेछ,’ शेर्पाले भने। गत वर्ष चैतमा जारी ‘बी’ डिभिजन लिग कोरोनाका कारण बीचमै रोकिएको थियो। एन्फाले ‘बी’ डिभिजन लिगको तयारीका लागि प्रत्येक क्लबलाई दुई लाख रुपैयाँसमेत उपलब्ध गराउने भएको छ।
यसैगरी एन्फाले गत वर्ष स्थगित भएको ‘सी’ डिभिजन लिग चैत १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। यसपटक एन्फाले ‘सी’ डिभिजन क्लबलाई नौ लाख रुपैयाँ लिग तयारी खर्च उपलब्ध गराउने भएको छ। महिला लिग र राष्ट्रिय लिगका विषयमा पनि छिट्टै निर्णय गर्ने एन्फाको तयारी छ। एन्फाले प्रदेश लिग माघ पहिलो सातादेखि सञ्चालन गर्ने तयारी पनि गरेको छ।
घरेलु प्रतियोगितासँगै एन्फाले विश्वकप छनोट खेलको तयारीसमेत सुरु गरिसकेको छ। विश्वकप छनोटका लागि बालगोपाल महर्जनको प्रशिक्षणका खेलाडीको बन्द प्रशिक्षणसमेत सुरु भएको छ। प्रशिक्षक महर्जनले प्रारम्भिक चरणमा ५८ खेलाडी समावेश गरेर खेलाडीलाई प्रशिक्षण दिएका छन्। सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ। कोरोनाकै कारण स्थगित भएको विश्वकप खेलको नयाँ खेलतालिकासमेत सार्वजनिक भइसकेको छ। तालिकाअनुसार नेपालले चैत १२ गते चाइनिज ताइपेई, चैत १७ गते अस्ट्रेलिया र चैत २४ गते जोर्डनसँग दशरथ रंगशालामा खेल्नेछ। विश्वकप छनोटअन्तर्गत एसियाली देशको समूह ‘बी’ मा रहेको नेपालले यसअघि पाँच खेल खेलिसकेको छ। नेपालले यसअघिका चाइनिज ताइपेईलाई मात्र २–० गोलले हराएको थियो। नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० र दोस्रो खेलमा १–० गोलले पराजित भएको थियो।