नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको कदमविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका छन्। आफू पक्षीय केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापनाका लागि कडा संघर्ष गर्ने र नेपाल बन्दसम्म पनि हुनसक्ने उल्लेख गरे।
‘आन्दोलनमा नेपाल बन्दसम्म पनि हुनसक्छ। कडा नै हुन्छ। साहस गरौं,’ उनले भने, ‘दिमागमा कुनै बाेझ छ भने हटाइदिनु। आन्दोलन गर्ने हो। आफ्नो प्रदेशमा अब कयौं गुणा बढी सक्रिय र त्याग गर्नुपर्नेछ।’ आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीबाट साढे दुई वर्षसम्म अपना सहेको समेत उल्लेख गरे। आफूहरूले ओलीविरुद्ध राजनीतिक प्रतिकार गर्ने निर्णय गरेर ठीक गरेको समेत बताए।
‘साढे दुई वर्षका अपमानपछि सत्यलाई स्थापित गर्ने साहस सचिवालयले गरेर ठिक गरिएछ। मन्द विष पिलाउन खाेजिएकाे रहेछ,’ उनले भने। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुर्जुवा भएको लक्षित गर्दै बुर्जुवाहरू शब्दजालमा सिपालु हुने बताएका छन्। उनले प्रधानमन्त्री ओलीले शब्दजाल वाकजालमा पारेर संसद् विघटन गरेको समेत उल्लेख गरे। विकल्प लिएर आउँछु भन्दाभन्दै पनि उनले आफूलाई ओलीले समय निदिएको उनको भनाइ छ।
‘५ मिनेटमा विकल्प लिएर आउँदैछु दुई विकल्प थिए भन्दा हतारहतार भंग गरियाे। याे सामान्य कुरा छैन,’ प्रचण्डले भने, ‘शब्दजाल, वाकजाल छ। ब्रुजुवा (ओलीलाई लक्षित गर्दै)हरू शब्दजालमा सिपालु हुन्छन्। सर्वहारा (आफूहरू)काे मन इमानदार हुन्छ।’ उनले कडा आन्दोलनमा उत्रन समेत सबैलाई आह्वान गरेका छन्।
‘हामीले आन्दोलन अलि कडा गर्नुपर्नेछ। कडा आन्दोलनमा जान सकेनौं भने संविधानमा छैन भनेर पुनर्स्थापना भइहाल्छ भन्ने हुँदैन,’ उनले भने, ‘पहिलाे चरणको संघर्षले पुग्ला जस्ताे लागेकाे छैन। दाेस्राे चरणको चाहिन्छ। प्रतिक्रान्तिले टाउको उठाउन खाेजेकै छ।’ उनले प्रतिनिधिसभा विघटन गर्ने काम काम पनि ग्रान्ड डिजाइनमा भएको र ताजा जनादेशमा जाने भनेर अर्को जाल थापिएको समेत उल्लेख गरे।
‘निर्वाचन हुन्छ र जितन्छ भन्ने नादानी हुन्छ। याे डिजाइनमा भएकाे हाे। हुँदाखाँदाकाे संसद् व्युँताउनुपर्छ। नत्र नजिर बन्छ। भविष्यमा पनि प्रधानमन्त्रीले यस्तै गर्छ,’ उनको भनाइ थियो। उनले सम्पत्ति खान आफन्तले मृत्युको प्रमाण बनाएका एक भारतीय उदाहरण दिँदै भने, ‘हम जिन्दा हे। केन्द्रीय कमिटी जिउँदाे छ।’
अध्यक्ष प्रचण्डले मुलुकमा २०१७ सालको जस्तो प्रतिक्रान्ति ल्याउन खोजिएको पनि बताए। उनले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन ठूलो डिजाइन अनुसार अहिले काम भइरहेको बताए। प्रचण्डले भने,’ २०१७ सालको जस्तो प्रतिक्रान्ति ल्याउन खोजिएको छ। हाम्रा उपलब्धिको हत्या गरिएको छ, अपहरण गरिएको छ। हामी मर्दै नमरेकालाई मरेको भनिएको छ। जरुरी पर्छ भने जुझारु संघर्षमा जानुपर्ने हुन्छ।’
उनले ७ दशकसम्म प्राप्त उपलब्धिसमेत गुम्ने खतरा रहेको उल्लेख गरे। ‘हामीले ७ दशकसम्म लडेको लडाईंबाट प्राप्त गरेका उपलब्धि अपहरण भएका छन्। हाम्रो आन्दोलन जाली र फटाहा प्रवृत्तिका विरुद्ध हो,’ उनले भने, ‘वैचारिक र राजनीतिक रूपमा विचलित साथीहरूसँगकाे लडाइँ हाे। याे जीवन र मृत्युको लडाइँ हाे। जस्ताेसुकै मूल्य चुकाउन अघि बढ्नुपर्छ।’
अध्यक्ष प्रचण्डले विश्व शक्ति हत्याउन प्रतिस्पर्धा भएकाबीच नेपालमा खेल्ने काम भइरहेको बताए। ‘अन्तर्राष्ट्रिय तार पनि यहाँ जोडिएका छन्। भूराजनीतिक अवस्थितिको कारणले, विश्व शक्ति हत्याउन प्रतिस्पर्धा भएकाबीच नेपालमा खेल्ने काम भइरहेको छ,’ उनले भने।