काठमाडौं । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारसहित विषयमा सहमति खोज्न निरन्तर एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास धाउन थालेका छन् ।
एमालेको समर्थनमा तेस्रो पटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका दाहाल पछिल्लो पाँच दिनमा दुई पटक ओलीनिवास बालकोट पुगिसकेका छन् ।पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि पुस २७ गते मन्त्रिपरिषद् विस्तारसहित विषयमा छलफल गर्न भन्दै दाहाल ओलीनिवास पुगेका थिए ।
पुस २८ गते नै मन्त्रि–परिषद्लाई पूर्णता दिँदै कार्यविभाजन गर्ने दुई नेताबीच पूर्वसहमति भएको थियो । तर दाहाल र ओलीबीच मन्त्रालय भागबन्डा र कार्यविभाजनमा सहमति जुट्न सकेन । र, अर्को बैठक गर्नेगरी दुई नेता बालकोटबाट उठेका थिए ।
त्यसबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा ओली र दाहालबीच भेटवार्ता भएको थियो । तर मन्त्रिपरिषद्सहित विषय टुंगो लगाउन दाहाल सोमबार बिहान फेरि ओलीनिवास बालकोट पुगे ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |