धनगढी – बैतडीमा पम्प खुलेको १३ वर्षपछि पम्पबाट पेट्रोल वितरण सुरु भएको छ। शनिबारदेखि पेट्रोल वितरण सुरु भएको हो।
तापक्रम नमिल्दा घाटा हुने भन्दै तेल बिक्रेताले डिजेल मात्रै बिक्री गरेर पेट्रोल बिक्री बन्द गरेका थिए। जिल्ला प्रशासन कार्यालय बैतडीको अगुवाईमा नेपाल आयल निगम धनगढीका कर्मचारी बोलाएर शनिबार तापक्रम नापजाँच गरेर मूल्य समायोजनका लागि पहल भएपछि पेट्रोल वितरण सुरु भएको हो।
अबदेखि खुला रुपमा पेट्रोल बेच्न बन्द गरेर मूल्य समायोजनका लागि जिल्ला प्रशासन कार्यालयले आयल निगमसँग समन्वय गर्ने बताइएको छ। तापक्रमका कारण चिसो ठाउँमा ल्याएर पेट्रोल बेच्दा घाटा हुने भएकाले बिक्री बन्द गरेको बताउँदै आयल स्टोरका सञ्चालक पदमबहादुर भण्डारीले प्रशासनको सहयोगमा मूल्य समायोजन हुने भएपछि शनिबारदेखि पम्पबाट पेट्रोल बिक्री सुरु भएको बताए।