कास्की – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले चुनाव नजित्ने अवस्था आए मतपत्र च्यात्न सक्ने आराेप लगाउनुभएकाे छ ।
नेकपा एमाले पाेखरा नगर कमिटीले आज साेमवार आयाेजना गरेकाे चुनावी सभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले भन्नुभयाे, ‘गठबन्धनले भोटले जित्ने होइन । अघिल्लो पल्ट भरतपुरमा हामीले देखेका छौँ । हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन्’, उहाँले भन्नुभयाे, ‘त्यसैले हामी मतदान दिनदेखि मतगणना नसकिँदासम्म नसुती बस्नु पर्दछ, आँखा झिमिक्क पनि गर्नु हुँदैन ।’ गठबन्धन भोटले नभइ धाँधली र मतपत्र च्यातेर नतिजा आफ्नो पक्षमा पार्ने उहाँको आरोप छ ।
कार्यक्रममा अध्यक्ष ओलीले सत्तारूढ गठबन्धन झाडीमा जन्मिएको टिप्पणीसमेत गर्नुभयाे । उहाँले गठबन्धनका नेताहरू आफ्नालाई भोट नदिए देश दुर्घटनामा पार्ने धम्की दिँदै हिँडेको भन्दै कांग्रेसको बेहाल भइरहेको बताउनुभयाे ।
सभालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सङ्गठन विभाग प्रमुख खगराज अधिकारी, सांसद विद्या भट्टराई, पोखराका मेयरका उम्मेदवार कृष्ण थापा, उपमेयरकी उम्मेदवार मन्जुदेवी गुरुङ लगायतले सम्बोधन गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |