चीनको अर्थतन्त्रले पहिलो पटक युरोपेली युनियनको समग्र अर्थतन्त्रलाई उछिनेको छ ।
सन् २०३० सम्ममा विश्वकै ठूलो अर्थतन्त्र बन्ने अनुमानबीच चीनले युरोपेली युनियनको अर्थतन्त्रलाई उछिनेको हो ।
२०२० मा हालसम्मकै ठूलो आर्थिक मन्दी खेपेको ईयूमा गत वर्ष भने जीडीपी बढेको हो ।
गत वर्ष समग्र युरोपेली युनियनको कूल ग्राहस्थ उत्पादन (जीडीपी) १७ ट्रिलियन डलरभन्दा केही बढी थियो ।
चीनको नेश्नल ब्यूरो अफ स्टाटिस्टिक्सले गत महिना सार्वजनिक गरेको तथ्याङ्कले २०२१ मा त्यहाँको जीडीपी ८.२ प्रतिशतले वृद्धि भएको देखाउँछ । चीनको जीडीपी २०२० को तुनलामा तीन ट्रिलियन डलरले वृद्धि भई गत वर्ष १७.७ ट्रिलियन डलर पुगेको थियो । जुन समग्र ईयूको भन्दा धेरै हो ।
चीनमा कोभिड-१९ को महामारीका बेलासमेत औद्योगिक उत्पादन र निर्यात मजबुत हुँदा अर्थतन्त्र वृद्धि भएको हो । ईयूको भन्दा चीनको जीडीपी बढी हुनुको अर्को कारण युरोपेली युनियनबाट बेलायत बाहिरिनु पनि रहेको छ ।
गत महिना बेलायतको कन्सल्टेन्सी सीईबीआरले सार्वजनिक गरेको एक प्रतिवेदनमा सन् २०३० सम्ममा चीनले अमेरिकालाई उछिन्ने अपेक्षा गरिएको छ ।
तर, संसारकै ठूलो अर्थतन्त्र बन्नका लागि चीनलाई त्यति सजिलो भने छैन । किनभने २०२१ मा अघिल्लो वर्षको तुलनामा अमेरिकाको जीडीपी २.१० ट्रिलियन डलरले बढेर झण्डै २३ ट्रिलियन डलर पुगेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |