केशब प्रसाद रुपाखेती लेख्नु हुन्छ
दृष्टिकोण भन्नाले कुनै घटना, विषयवस्तु, परिवेश, सन्दर्भ, परिस्थिति व्यक्ति र समुह प्रतिको कुनै व्यक्तिको धारणा वा उसले गरेको मनन् तथा आत्मनिश्चयका साथ गरिएको निर्णय भन्ने बुझिन्छ । हरेक दृष्टिकोण सकारात्मक र नकारात्मक गरि दुई प्रकारको हुन्छ । सकारात्मक दृष्टिकोणले विषयवस्तु प्रति व्यक्तिको सकारात्मक धारणा छ भन्ने बुझिन्छ । यसले उक्त व्यक्तिमा सकारात्मक चिन्तन, बिचार, सकारात्मक उर्जा र सकारात्मक मनोवृत्तिले विचरण गरेको र निर्देशन गरेको छ भन्ने बुझ्न सकिन्छ । यस्ता मानिसले नकारात्मक परिस्थितिलाई पनि सकारात्मक बनाउने कोशिश गरिरहेकाे हुन्छ । उसका हरेक व्यवहारहरु सकारात्मक दिशामा निर्देशित भएको पाईन्छ ।
कुनै पनि व्यक्ति, परिवार, समुदाय र समाज कतिको सभ्य, समृद्ध र उन्नत छ भन्ने कुरा त्यस व्यक्ति वा परिवार,समुदाय र समाजको सदस्यको चिन्तन कस्तो छ भन्नेमा निर्भर रहेको हुन्छ। हामीले सकारात्मक चिन्तनको साथ कुनैपनि कार्यलाई अगाडि बढायौं भने त्यो कार्य जतिसुकै कठिन किन नहोस् त्यसले समाधानको दिशा भेटिसकेको हुन्छ ।
समृद्ध र प्रगतिशील राष्ट्रहरुको कुरा गर्नु पर्दा त्यस राष्ट्रका हरेक नागरिकहरुमा सकारात्मक चिन्तन र धारणा भएको पाईन्छ भने अविकसित र अन्यौलग्रस्त अवस्थामा रहेका राष्ट्रका अधिकांश नागरिकमा नकारात्मक चिन्तन र धारणा विकास भएको पाईन्छ । हाम्रो देश नेपालका हामी अधिकांश नागरिकमा हरेक विषयमा नकारात्मक चिन्तनले डेराजमाएको भन्नेमा कुनै दुईमत छैन । हामीले हरेक विषय वस्तु,घटना, परिवेश सन्दर्भलाई सकारात्मक चिन्तनले हेर्ने जमर्को कहिल्यै गरेनौं ! हाम्रा मन मस्तिष्क,चुलाचौका, कुना-काप्चा, घर होस या कार्यालय सबै स्थानमा अनेकौं जिम्मेवारी लिएर बसेका हामी नेपालीको मनमा नकारात्मक चिन्तनको कारण नै आज हामी विश्वव जगतसामु कमजोर महसुस गरिरहेका छौँ ।
हाम्रा देशका हरेक मानिसमा नकारात्मक चिन्तन विकसित हुनुमा अरु कारण नभई हाम्रा भोगाइ,बुझाई, अनुभव र अभ्यास नै हुन्। घरमा अभिभावकले सन्तानहरुलाई धेरैजसो ढाँट्ने,छल्ने र टार्ने प्रवृत्तिले गर्दा सन्तानको मस्तिष्कमा नकारात्मक चिन्तनको विकास हुन पुग्यो । जसको परिणामस्वरूप अभिभावकले भनेका र सुनाएका हरेक कुरा र बिचारलाई सन्तानले पत्याउनै छोडे र अभिभावकका सत्य र वास्तविक कुरालाई सन्तानले यो झुठो हो, टार्ने कुरा हो, अल्मलाउने काम र कुरा हो भन्ने धारणाको विकास गरे । जसले गर्दा उनिहरुको सोचाइमा नकारात्मक कुरा बढी आयो र त्यो बानी र व्यवहारको रुपमा विकास भयो । यस्तै राजनीतिक नेता र कार्यकर्ताले पटक पटक झुठो बोल्ने र ढाँटछलपूर्ण व्यवहार प्रदर्शन गर्नाले अहिले अधिकाँस नागरिकले राजनीतिक दल र नेतालाई हेर्ने दृष्टिकोण नकारात्मक छ। यसले गर्दा इमानदार नेता कार्यकर्ताले पनि आफूलाई स्थापित गर्न सकिरहेको छैनन् । यतिमात्र होइन हरेक पेसा र क्षेत्रमा आवद्ध भएका मानिसका बारेमा अर्कोले हेर्ने दृष्टिकोण र बनाउने चिन्तन नकारात्मक हुन थालेको छ । कर्मचारी,शिक्षक,डाक्टर, प्रहरी, सेना, मन्त्री, व्यापारी, उद्योगी, नेता, समाजसेवी, वकिल, खेलाडी, मजदुर, कृषक तथा अन्य जो सुकै जतिसुकै इमानदार होस र राम्रोकाममा अगाडि बढोस् तर उसमाथि अर्कोले हेर्ने दृष्टिकोण भनेको नकारात्मक नै हुन्छ । अर्थात उसले आफ्नो स्वार्थ पूरा गर्न मात्रै त्यो काममा इमानदार जस्तो देखिन खोजेको हो भनेर संका र आरोप लगाइन्छ । चाहे त्यो जतिसुकै पवित्र विचारले गर्न लागिएको भएपनि त्यहाँ खोट नै देखिन्छ । किनभने खोट देख्नेको मस्तिष्कमा यस अघि नै नकारात्मक चिन्तनले डेरा जमाएर बसेकाले उसले कहिल्यै पनि सकारात्मक देख्न सक्दैन ।
कुनै व्यक्तिले निस्वार्थ रुपमा स्वयमसेवा गर्न लागेको छ भने त्यहाँ अर्कोले स्वार्थ लुकेको देख्छ। कुनै दुखिलाई अर्को मनकारी व्यक्तिले सहयोग र सेवा गर्यो भने त्यो सहयोगीको सहयोगमा अरुले स्वार्थ लुकेको देखेको हुन्छ । कसैले सेवाभावले र मानवीय कर्तव्यबोध भएर केही कार्य गर्न लाग्दछ भने उसको त्यो कार्यबाट प्रेरणा लिनुको साटो उल्टै उसलाई स्वार्थि नजरले हेरिन्छ र त्यो असल कार्यलाई कलङ्कित बनाईन्छ ।
हाम्रो नयाँ पुस्ता यति सम्म नकारात्मक चिन्तनको
सिकार भएको छ कि यसको सामान्य हिसाबले लेखाजोखा राख्न सक्ने अवस्था नै छैन । सामाजिक सञ्जालमा कसैले कुनै घटना, समाचार, बिचार वा कुनै विषयवस्तु पोष्ट गर्यो भने त्यसमा आउने ९० प्रतिशत भन्दा बढी कमेन्टहरु नकारात्मक, गालीगलौजले भरिएको, कुतर्कपूर्ण र अरुलाई होच्याउने प्रकारका हुन्छन् । कुनै राजनीतिक नेता बिरामी भएको समाचार आयो भने त्यसमा आउने प्रतिक्रिया पनि सामान्य अवस्थामा हेर्न नसकिने हुन्छन् । नकारात्मकता यसरी सिमा नाघ्यो कि अर्काको मृत्युमा समेत मजाक उडाउन थालिएको छ। यसले मानविय समवेदना भन्ने कुरा हराएर गएको कुरा पुष्टि गरेको छ। अरुको दुखमा साथ दिनुको सट्टामा नकारात्मक व्यङ्ग्य हानेर उसलाई झन पीडा थप्ने गरिएको छ। आपसी विस्वास र सद्भावमा दरार उत्पन्न हुन थालेको छ। समाजमा वेथिति र अव्यवस्थाले जरा गाडेको छ र परिणामस्वरूप हामी अवनति तर्फ हिड्न लागेका छौ ।
हाम्रो चिन्तन यस्तो भएको छ कि हामी बाउआमाको मायामा स्वार्थ लुकेको देख्छौं । दम्पतीले एकले अर्कोलाई गरेको मायाँमा स्वार्थ देखेको हुन्छौं ।राजनीतिक दलले ल्याएका राम्रा कार्यक्रममा स्वार्थ देख्दछौं । सामाजिक अभियान्ताले गरेको निस्वार्थ सेवामा स्वार्थ देखेका हुन्छौं । दाजुभाइको सहयोग र सद्भावभ भित्र स्वार्थ जोडेर व्याख्या गर्दछौं । साथीहरू बिचको सहयोग र सद्भावमा स्वार्थ खोज्ने काम गर्दछौं । हाम्रो मस्तिष्क यतिसम्म भ्रष्ट र दिग्भ्रमित भएको छ कि हामी भित्र सकारात्मक चिन्तन भन्ने कुरा सानो अंश पनि छैन । हामी अरुको आलोचना गरेर होच्याउँदा आफूलाई उचाइ बढेको सम्झन्छौं। अरुलाई असफल बनाउन पाउँदा आफुलाई सफल सम्झन्छौं। अरुलाई दुखमा पारेर आफू सुखी सम्झन्छौं। अर्काको बाटो बन्द गरेर आफू छिटो गन्तव्यमा पुग्न सक्ने ठान्छौं । हो हाम्रो यही चिन्तन र प्रवृत्तिले गर्दा आज हामी विकासमा पछाडि छौं। सोचाइमा दरिद्र छौ। बिचारमा कुण्ठित छौं । ज्ञानमा अल्पज्ञानी छौं। इमानमा वेइमान छौं । यहि नै हो आजको हाम्रो पहिचान । अब सोचेर,समिक्षा गरेर अगाडि बढ्न सकिएन र आफूलाई सुधार गर्ने तर्फ अगाडि बढिएन भने नकारात्मक चिन्तनले हामीलाई खाने छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |