नेपाली काङ्ग्रेसको १४औं महाविधेशन प्रक्रिया शुक्रबार विधिवत रुपमा सुरु भएको छ । शुक्रबार देशभरि वडा अधिवेशन भएका छन् । वडा अधिवेशन काङ्ग्रेसको सबैभन्दा तल्लो, तर महत्वपूर्ण संरचना मानिन्छ ।
सुदूरपश्चिम प्रदेशमा शुक्रबार चार वटा जिल्लामा वडा अधिवेशन भएका छन् । कञ्चनपुर, डोटी, अछाम र बझाङमा शुक्रबार वडा अधिवेशनहरू भएको सम्बन्धित जिल्ला काङ्ग्रेसले जनाएका छन् ।
क्रियाशील सदस्यताको टुङ्गो नलागेका कारण कैलाली, बाजुरा र डडेल्धुराको वडा अधिवेशन अनिश्चित भएको छ भने बैतडी र दार्चुलामा बाढी तथा पहिरोका कारण आवागमनमा कठिनाइ भएकाले तीन दिन पछि सारिएको छ ।
शुक्रबार भएका जिल्लाका वडा अधिवेशनमा अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । डोटीका ६५ वडा मध्ये अधिकांशमा सर्वसम्मत रुपमा वडा सभापति र पदाधिकारी तथा सदस्य र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन् ।
काङ्ग्रेस नेता तथा प्रदेशसभा सदस्य भरतबहादुर खड्काले जिल्लाका धेरैजसो वडामा सर्वसम्मतिबाट नेतृत्व चयन भएको सूचना प्राप्त भएको बताए ।
उनको पालिका पूर्वीचौकीका वडा नम्बर १, २, ६ र ७ मा शुक्रबार साँझसम्म सर्वसम्मत ढङ्गबाट नेतृत्व चयन भइसकेको बताए । उनले भने– ‘बाँकी तीन वडामा पनि सर्वसम्मतिको प्रयास भइरहेको छ ।’
डोटीकै शिखर नगरपालिकाका सबै ११ वडामा सर्वसम्मत रुपमा वडा समिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । डोटीका पत्रकार योगेन्द्र बलायरका अनुसार केआइसिंह गाउँपालिकाका सबै सात वडामा पनि सर्वसम्मतिबाट नेतृत्व चयन भएका छन् ।
बोगटान गाउँपालिकाका अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको बोगटानमा नै रहेका पत्रकार मीन बमले बताए ।
त्यस्तै, शुक्रबार वडा अधिवेशन भएका कञ्चनपुर, अछाम र बझाङमा पनि अधिकांश वडामा सर्वसम्मत रुपमा वडा समिति गठन तथा नेतृत्व चयन भएका छन् ।
अछामको पञ्चदेवल बिनायक नगरपालिका कुइकामा रहेका नेपाली काङ्ग्रेस अछामका सहसचिव तथा प्रवक्ता वेदप्रसाद तिमिल्सिनाले दिएको जानकारी अनुसार वडा नम्बर १, २, ३ मा शुक्रबार साँझसम्म सर्वसम्मतिबाट नेतृत्व चयन भइसकेको छ भने बाँकी छ वटा वडामा पनि प्रयास जारी छ ।
त्यस्तै, कमल बजार र साँफेबगर नगरपालिकाका केही वडामा पनि सर्वसम्मतिबाट वडा समिति र नेतृत्व चयन भएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |