काठमाडौं । पूर्व कृषि मन्त्री पद्मा अर्याल पूर्व बनेको केही दिनमात्र भएको छ । यो केही दिन भित्र उनी आफ्नै गाउँले जीवन, करेसाबारी र खेतीपातीमा रमाएकी छिन् । सुनौलो नेपालको टिम स्याङ्जा वालिङस्थित उनको निवासमा पुग्दा उनी करेसाबारीमा भेटिइन् । करेसाबारीमा काम गर्दै उनीसँग हाम्रो टिमले केहीबेर अनौपचारिक कुराकानी पनि गर्यो ।
‘म त्यतिधेरै बजारले आकर्षित हुने व्यक्ति होइन, आफूले केही गरेर खाउँ भन्दा गरेर खाने ठाउँ भएकोले गाउँ मन पर्छ ।’ उनले कुराकानीका क्रममा भनिन् ।
मन्त्रालयको जिम्मेवारी सम्हाल्दा काठमाडौंको डेरामा रहेकी उनी गाउँ पुगेर जनतासँग भेट्दा फ्रेस हुने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘काठमाडौंको बसाईले दिक्क हुँदा यता आएर जनता भेटेपछि चंगा हुन्छु । मलाई अलिअलि भएको बिरामी पनि ठीक हुन्छ । म धेरै जनतासँग रमाउने मान्छे हो ।’
आफूलाई काठमाडौंले खासै आकर्षित नगर्ने बताउँदै उनले भनिन्, ‘मन्त्री पदबाट हटेपछि कतिखेर तल गाउँ जाउँ भएर तुरुन्तै आइहालेँ पछिल्लो समय सहरको बसाईले दिक्क भएका व्यक्तिहरु फुर्सदमा गाउँ गइहाल्ने क्रम बढी देखिएको उनको अनुमान छ । ‘गाउँको बसाई भनेको स्वास्थ्यको दृष्टिकोणले धेरै राम्रो । ’ तर अझै पनि गाउँ कृषिमैत्री बन्न नसकेकोमा भने उनको दुखेसो छ । परम्परागत शैलीले खेतिपाती गर्दा जीविकोपार्जनमा समस्या भएको उनी बताउँछिन् । मन्त्री पदमा रहेर उनले पाँच महिना ११ दिन कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तारपछि पद्मा अर्यालको पनि मन्त्री पद गुमेको हो । उनको ठाउँमा जसपाका ज्वालाकुमारी साहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।यद्यपी, असार ८ गते सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तार संविधान अनुकूल नभएको भनी बदर गरिदिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |