मनसुनको शुरुआतमै देशका विभिन्न स्थानमा बाढीपहिरका अकल्पनीय घटना हुन थालेका छन् ।
सिन्धुपाल्चोक, मनाङ, जाजरकोटलगायत १७ जिल्ला गत जेठ २८ पछि आएको बाढीपहिरोले प्रभावित हुन पुगेको छ ।
विज्ञका अनुसार यसपाली अप्रत्यासित रुपमा लेदो र गेगरसहितको बाढी आएको थियो । यसले बढी क्षति पु-याउन मद्दत ग¥यो ।
मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा बर्षा हुने र केही ठाउँमा अति भारी हुने अनुमान सार्वजनिक गरेको थियो ।
पूर्व सूचनाका बीच पनि शुरुआती चरणमै मनसुनजन्य घटनाबाट हुने असर न्युनिकरण हुन सकेन ।
सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस हुन पुगेको छ ।
गत जेठ २८ गते मनसुन प्रवेश गरी ३० गते देशैभरी फैलिएसँगै आएको भारी वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा सात जनाको मृत्यु भएको छ । अन्य २५ जना हराइरहेका छन् ।
गत वर्ष भेलपहिरोका कारण ठुलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकले यसपाली पनि मनसुनको शुरुवाती समयमै त्यसैगरी प्रभावित हुन पुगेको छ ।
प्राप्त विवरण अनुसार सिन्धुपाल्चोकमा आजसम्म तीन जनाको मृत्यु भएको छ भने बाजुरा, पाल्पा, डोटी र कास्कीमा एक÷एक जनको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।
सिन्धुपाल्चोकमा मृत्यु भएकामा दुई जना चिनिया नागरिक छन् ।
एक जनाको शव सिन्धुलीमा भेटिएको जनाइएको छ ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले अहिलेसम्म सिन्धुपाल्चोक १४ जना सम्पर्क बिहीन रहेको जानकारी दिनुभयो ।
हराएका १८ मध्य चार जना सम्पर्कमा आइसकेका छन् ।
जाजरकोटमा विकट क्षेत्रमा ७ जना हराइरहेका छन् ।
बाजुरा, प्यूठान, अर्घाखाँची र काभ्रेमा एक÷एक जना वेपत्ता छन् ।
सिन्धुपाल्चोकमा यसपाली पनि अप्रत्यासित रुपमा बाढी आएको हो ।
हेलम्बु गाउँपालिका वडा नं १ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट पहिरो खसेर मेलम्ची नदी थुनिएको र त्यही फुटेपछि ठुलो दुर्घटना हुन पुगेको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ ।
त्यसले हेलम्बु र मेलम्चीको नदी आसपास क्षेत्रमा ठुलो असर पुर्याएको छ ।
सिन्धुपाल्चोकलगायत प्रभावित जिल्लामा उद्धार र राहत वितरण जारी रहेको जनाइएको छ ।
अहिलेसम्म सिन्धुपाल्चोकका जोखिम क्षेत्रबाट ७४ जनाको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको जनाइएको छ ।
मेलम्ची नगरपालिकामा ६०० जना, हेलम्बु गाउँपालिकामा ३०० बढी प्रभावित भएको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो ।
उहाँका अनुसार अन्य विवरण संकलन जारी रहेको जनाइएको छ ।
भौतिक क्षेत्रको विषयमा आजदेखि विवरण सङ्कलन थालिएको छ ।
जाजरकोटमा भएको घटना भने गत जेठ ३१ गते भएको थियो । जिल्ला सदरमुकामबाट निक्कै टाढा तथा चार हजार ८०० मिटरको उचाईमा घटना हुन पुगेकाले विवरण ढिला आएको हो ।
जिल्लामा सात जना हराइरहेका छन् । घटनास्थलमा प्रहरी टोली पठाइएको तर विस्तृत विवरण आइसकेको छैन ।
कुसे गाउँपालिका ८ जलजला पाटनमा अविरल बर्षा र हावाहुरीले गर्दा सात जना हराइरहेका जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार पाटनमा गाइवस्तु लिन गएका ११ जना मध्य अन्य चार जना भने सम्पर्कमा आएका छन् ।
विभिन्न जिल्लामा गरेर १२ जना घाइते भएको र उनीहरुको उपचार जारी रहेको छ । सरकारले उनीहरुको उपचार निशुल्क गर्ने घोषणा गरिसकेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |