सिन्धुपाल्चोकको मेलम्ची बजारलाई बाढीले बेहाल तुल्याएको छ । मंगलबार इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारका करिब एकसय घर पूर्ण रुपमा डुबानमा परेका छन् । घरको तीन तलासम्म लेदोले डुबेको अवस्था छ भने सारा सामान छाडेर ज्यान जोगाउनकै लागि नजिकैको विद्यालयमा आश्रय लिएका स्थानीयवासीका लागि गाँस, बास र कपासको समस्या टड्कारो भएको छ ।
स्थानीयवासी मच्छिन्द्र श्रेष्ठ बाढीले आफ्नो परिवारको उठीबास नै गराएको बताउँछन् । १० जनाको परिवार रहेका श्रेष्ठले ०७४ सालमा ऋण लिएर चार तले घर बनाएका थिए । मंगलबार लेदोसहित आएको बाढीले उनको घर डुबाएको छ ।
‘चार तले घरको एक तलामात्र देखिएको छ,’ रातोपाटीसँग उनले भने, ‘तीन तला पुरिएको छ ।’ करिब ४० लाख खर्च गरेर बनाएको घरको ऋणसमेत तिर्न बाँकी रहेको उनले सुनाए ।
अब त खाने, बस्ने नै ठेगान भएन,’ उनले भने, ‘कसरी गुजारा चल्छ होला ! केही सोच्नै सकेको छैन ।’
बाढी आउँदैछ भनेर हल्ला चल्न थालेपछि साँझ घर छाडेर आफूहरु सुरक्षित स्थानतिर गएकाले मानवीय क्षति हुन नपाएको उनले बताए ।
स्थानीयवासी नन्दाकुमारी श्रेष्ठ पनि बाढीले उठीबास लगाएको बताउँछिन् । उनले १० वर्षअघि जग्गा किनेर करिब ८ वर्षअघि घर बनाएको सुनाइन् ।
‘बैंकबाट ऋण लिएर घर बनाएको हो,’ उनले भनिन्, ‘त्यही घरमा एउटा सानो होटल गरेर गुजारा चलाउँदै आएका थियौं ।’
बाढीले घर डुबाएपछि ९ जनाको परिवारलाई कसरी गुजारा चलाउने भन्ने चिन्ता छ । ‘घरमा जानसक्ने अवस्था नै छैन, लेदो भरिएको छ,’ उनले भनिन्, ‘सामान पनि केही निकाल्न भ्याइएन, यस्तो होला भन्ने सोचेकै थिएन ।’
बाढीको यस्तो रुप होला र यतिसम्म बेहाल गराउला भनेर आफूहरुले कल्पना नै नगरेको उनले बताइन् । ‘पहिला पनि बाढी त आउँथ्यो,’ उनले भनिन्, ‘दुईचार घण्टा आउने हो, पहिलाको जस्तै त होला नि भनेर हिँडियो, घरसम्म बाढी आउँछ भनेर सोचेकै थिएनौँ ।’
अर्का स्थानीयवासी रन्जीतकुमार श्रेष्ठका अनुसार मंगलबार साँझ ६ बजेटबाट बाढी आउन थालेको थियो । तर राति १२ बजेर २० मिनेट जाँदा बाढीले धेरै क्षति पु¥याएको हो ।
‘त्यतिबेला बाढीले झोलुङ्गे पुल चुँडाल्यो, करिब १ बजेतिर ढलानको पुल पनि पल्टाइदियो,’ उनले भने । सरकार ले छिटो राहतको ब्यबस्था गरोस र अस्थायी घरको नि ब्यब्स्था गरोस ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |