अहिले भारत र नेपालमै पनि कोभिडका बिरामीमा कालो ढुसीको समस्या देखिएको र त्यसकै कारणले ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ ।
कालो ढुसीको प्रमुख कारणमा कोभिड हुँदा प्रयोग गरिएका एन्टिबायोटिक र स्टेरोइड प्रमुख हुन् । यिनीहरूको जथाभावी प्रयोग नगर्न भनिएको छ । यद्यपि तीबाहेक अन्य कारणहरू पनि हुन सक्छन् ।
अहिले होम आइसोलेसनमा रहेका र प्रायः हामी सबैले इम्युनिटी बढाउन विभिन्न जडिबुटीको प्रयोग गरिरहेका छौं । अचम्मको कुरा के छ भने अपवादबाहेक सबैले सुनेको, सामाजिक सञ्जालमा हेरेको/देखेको र विज्ञापनको भरमा जडिबुटी र आयुर्वेदिक औषधिको सेवन गरेका छौं ।
मात्रा नमिलेमा र प्रयोग गर्ने घटकको उचित सम्मिश्रण नभएमा आयुर्वेद औषधिले पनि लाभको सट्टा काम नगर्ने वा हानि गर्ने पनि हुन सक्छ ।
यसको मुख्य कारण आयुर्वेद औषधिको प्रतिअसर (साइड–इफेक्ट) हुँदैन भन्ने हो । मात्रा नमिलेमा र प्रयोग गर्ने घटकको उचित सम्मिश्रण नभएमा आयुर्वेद औषधिले पनि लाभको सट्टा काम नगर्ने वा हानि गर्ने पनि हुन सक्छ
हामी सबैमा आयुर्वेद औषधिको प्रतिअसर हुँदैन/गर्दैन भन्ने भ्रम छ । आयुर्वेदकै कतिपय स्वास्थ्यकर्मी र चिकित्सकले समेत खुलेर आयुर्वेद औषधिको प्रतिअसर हुन्छ भनेर भनेको पाइँदैन । त्यसले तत्कालै फाइदा पुगेजस्तो (आम मान्छेलाई आयुर्वेद औषधिको साइडइफेक्ट हुँदैन खाउँ न भनेर प्रयोग गर्ने गरेको/गराएको) देखिए पनि त्यो मुतको न्यानो मात्रै हो ।
आयुर्वेद औषधि सेवन गर्दा चिकित्सक र स्वास्थ्यकर्मीलाई सोध्ने र बिरामी हुँदा जाँच्नुपर्छ भन्ने मानसिकता बन्न लामो समय लागेको छ । खैर, अहिलेलाई कोभिड भएका बिरामी वा कोभिडपछि कालो ढुसी वा अन्य समस्या नहोस् भन्नका खातिर घरमै गर्न सकिने उपाय र नियमित चिया/काँढाको रूपमा प्रयोग गरिने केही औषधीय जडिबुटीको मात्रा, त्यसले गर्न सक्ने हानि र सावधानीबारे उल्लेख गरौं –
१.गुडूची
ताजा डाठको रस १०–२० मिलि उमालेर राखेको पानीमा मिसाएर ।
पाउडर (धुलो) – ३–६ ग्राम (१–२ चम्चा)
काँढा – ५०–१०० मिलि
दिनमा ३–४ पटक प्रयोग गर्ने ।
२. यष्टिमधु (जेठीमधु)
पाउडर (धुलो) – ३–६ ग्राम (१–२ चम्चा) दिनमा ३–४ पटकसम्म
चिया बनाएर खादा – ५०–१०० मिलि
३. अदुवा (सुँठो – सुकेको अदुवा)
ताजा रस ५–१० मिलि तातो पानी/महसँग
पाउडर (धुलो) – १–२ ग्राम (१/२–१ सानो चम्चा)
काँढा – ५०–१५० मिलि
दिनमा ३–५ पटकसम्म प्रयोग गर्ने ।
सावधानी :
– हातगोडा पोल्ने, पिसाब पोल्ने, मुख, नाक, मलद्वार आदिबाट रगत बग्ने समस्या भएको बेलामा सेवन नगर्ने ।
– गृष्म (जेठ–असार) र शरद (असोज–कात्तिक) ऋतुमा कम सेवन गर्नुपर्छ ।
४. पिप्पली (पिपला)
पाउडर (धुलो) – ०.५–१ ग्राम (१/४–१ चम्चा)
दम र खोकीमा पिप्पला चुस्न पनि सकिन्छ ।
पुरानो ज्वरोमा ०.५ ग्राम धुलो दिनमा २ पटकसम्म गुडमा मिसाएर खान सकिन्छ ।
५. मरिच
पाउडर (धुलो) – ०.५–१ ग्राम (१/४–१ चम्चा) बिहान र साँझ तातोपानीसँग खानापछि सेवन गर्ने । मसलाको रूपमा प्रयोग गर्दा पनि थोरै मात्रामा गर्ने ।
सावधानी :
धेरै सेवन गर्दा हातगोडा पोल्ने, पिसाब पोल्ने, पेट दुख्ने, वान्ता हुने जस्ता समस्या हुन सक्छन् ।
६. हरिद्रा (बेसार)
ताजा रस १०–२० मिलि दूध वा तातोपानीसँग
पाउडर (धुलो) – १–३ ग्राम (१/२–१ चम्चा)
दिनमा २ पटक खानापछि प्रयोग गर्ने ।
सावधानी ः पिसाब सम्बन्धी समस्या भएका र गर्मी प्रकृतिको शरीर भएका व्यक्तिले विचार पुर्याउनुपर्छ ।
७. तुलसी
ताजा रस ५–१० मिलि बिहान/बेलुका महसँग
पातको पाउडर (धुलो) – १–३ ग्राम (१/२–१ चम्चा)
दिनमा २–३ पटक प्रयोग गर्ने ।
८. ज्वानो
पाउडर (धुलो) – १–३ ग्राम (१/२–१ चम्चा)
चियाजस्तो पकाएर चिसो बनाएर – ५०–१५० मिलि
दिनमा ३–४ पटक प्रयोग गर्ने ।
बजारमा तयारी चियाहरू पनि पाइन्छन्, तिनीहरू सेवन गर्ने तरिका त्यसमा राखिएका घटकअनुसार फरक–फरक हुन सक्छन् । सामान्यतया दिनमा २–३ पटक प्रयोग गर्न सकिन्छ ।
यद्यपि सबै प्रकारका जडिबुटी वा आयुर्वेद औषधि सेवन गर्नुअघि स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श लिनु जरुरी हुन्छ ।
कालो ढुसीबाट बच्न घरमै गर्न सकिने कुराहरू (स्वस्थ व्यक्तिले पनि गर्नुपर्छ) –
१. एन्टिबायोटिक, स्टेरोइड, आयुर्वेद औषधि लगायतका कुनै पनि औषधिहरू सुनेको/फलानाले प्रयोग गरेर ठीक भएको, सामाजिक सञ्जालमा भेटेको जस्ता कुराको पछि नलागी स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह विना आफूखुशी प्रयोग नगर्ने/नगराउने ।
२. सुगर– प्रेसर जस्ता रोग भएका बिरामीले आहारबिहारमा विचार पुर्याउने, कम्तिमा बढ्न नदिने ।
३. व्यक्तिगत सरसफाइमा ख्याल गर्ने ।
४. नाकमा औषधियुक्त तेल वा शुद्ध तिलको तेल राख्ने । (आयुर्वेद औषधि पसलमा सजिलै पाइन्छ, प्रयोग विधि सोध्न पनि सकिन्छ ।)
५. बिहानमा दाँत माझेपछि तोरी वा तिलको तेल मुखमा केहीबेर राख्ने र थुक्ने गर्ने ।
६. त्रिफला पानीे वा फिटकिरी पानीले मुख कुल्ला गर्ने । त्रिफला पानीले नियमित आँखा पनि छ्याप्ने ।
७. खुला ठाउँमा बस्ने गर्ने । चिसो/ओसिलो ठाउँमा नबस्ने ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |