३० जेठ, काठमाडौं । ज्ञानेन्द्र शाही नाम चलेको दलका चर्चित नेता होइनन् । सामाजिक सञ्जालमा चर्को बोलेर लोकप्रियता कमाएका शाहीका हजारौं फ्यान छन् ।
तर, शाही बोलेर मात्र चर्चामा आउँदैनन्, उनीमाथि बेलाबेला सडकमै हुने ‘आक्रमण’ वा उनी संलग्न हुने झडपले पनि चर्चामा ल्याइरहन्छ । पछिल्लो पटक शाहीको समूहमाथि शुक्रबार राति गृहजिल्ला सुर्खेतमा आक्रमण भयो । यसअघि २०७६ असोजमा चितवनको चौबीसकोठीमा पनि उनीमाथि आक्रमण भएको थियो ।
आखिर किन पर्छन् उनी निशानामा ? शाहीको जिकिर छ, ‘मेरो लोकप्रियताबाट डराएर सत्ता पक्षका व्यक्तिहरुले नै ममाथि पटक–पटक आक्रमण गर्छन् ।’
सामाजिक अभियन्ताका रुपमा आफूलाई चिनाउने शाही निषेधाज्ञा र कोरोना महामारीबाट समस्यामा परेकाहरुलाई राहत बाँड्न भन्दै शुक्रबार सुर्खेत पुगेका थिए । त्यही क्रममा आफू र आफ्ना सहयोगीहरुमाथि शुक्रबार राति करिब ११ बजे वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा आक्रमण भएको शाहीको भनाइ छ । यो आक्रमणबाट उनका एक सहयोगीको टाउको फुटेको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिन्छ ।
शाही सवार गाडीभन्दा अगाडि दुई जना युवक मोटरसाइकलमा थिए । सुरुमा उनीहरुलाई बाटो छेकेर आक्रमण गरिएको र आफू पुगेपछि घेरा हालेर आक्रमण गरिएको शाहीको भनाइ छ । ‘हाम्रै टोलीका एक जना साथीको घरमा खाना खाएर बजार फर्किने क्रममा बाटो छेकेर हाम्रो हत्या गर्ने योजनाअनुसार आक्रमण भयो,’ शाही भन्छन्, ‘आक्रमणकारीले आफ्नो मोबाइलमा फोटो हेर्दै आक्रमण गरेका थिए । शायद हाम्रो फोटो उनीहरुलाई पठाइएको थियो ।’सुर्खेत प्रहरी प्रमुख राजेन्द्र भट्ट भने शाहीको समूहमाथि आक्रमण भएको नभई दुई पक्षबीच झडप भएको बताउँछन् । झडपमा संलग्न भएको भन्दै पाँच जनालाई नियन्त्रणमा लिएको भन्दै भट्टले भने, ‘दुई पक्षबीच झडप भएको थियो । प्रहरी टोलीले उहाँहरु (ज्ञानेन्द्र शाही समेत) लाई उद्धार गर्यो ।’ धेरै चोटि उ माथि हमला भएता पनि सरकार भने चुपचाप बसिरहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |