नयाँ राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिका विषयमा छलफल गर्न विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा विपक्षी गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता छलफलमा जुटेका हुन् ।
पछिल्लो राजनीतिक अबस्थाबारे छलफल भइरहेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
गण्डकी प्रदेशमा सरकारले विश्वासको मत नपाएको तथा सर्वोच्च अदालतले सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएकै दिन विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन् ।
समसामयिक राजनीतिक परिस्थिति र गठबन्धनको आगामी कदमबारे छलफल हुने बताइएको छ । विपक्षी गठबन्धनको रणनीतिअनुसार प्रदेश २ मा पनि सत्तासमीकरण हेरफेर भएको छ ।
असार ९ गतेदेखि देउवासहित १ सय ४६ सांसदले दायर गरेकाे रिट निवेदनलाई प्राथमिकतामा राखेर फास्ट ट्र्याकमा सुनुवाइ हुने भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |