काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ६१५ जनाको परीक्षण गर्दा ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १२ हजार ४७ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ४४९ जना र ४ हजार ५६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९५ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख १५ हजार ६५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ७६८ जना कोरोनामुक्त भए, ८१ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख १० हजार २९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १६ हजार ६१५ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३२ लाख ६५ हजार २३४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ८१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार १७९ पुगेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |