बितेको २४ घन्टामा झण्डै ८ सय बढी बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभरका प्रयोगशालामा २० हजार १०५ नमूना परीक्षण गर्दा आज भेटिएका ८ हजार ९८० सङ्क्रमितमध्ये बालबालिकाको संख्या ८३५ रहेको छ ।
आज ९ वर्षभन्दा मुनिका २२० र १० देखि १९ वर्ष उमेर समूहका ६१५ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । वैशाख २८ गते मङ्लबारको दिन ९३२ जना बालबालिकामा कोरोना पुष्टि भएको थियो । बालबालिकाको उक्त संख्या अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो ।
कोरोनाको नयाँ भेरियन्ट देखा परेसँगै बालबालिकाहरुमा पनि सङ्क्रमण बढ्दै गइरहेको वैशाख १ गतेदेखिको तथ्याङ्कले देखाउँछ । पछिल्ला दिनहरुमा २० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा बढी सङ्क्रमण देखिएको छ । संङ्क्रमण युवा उमेर समूहमा बढी देखिएता पनि कूल ज्यान गुमाउनेहरुमा ६० वर्ष नाघेकाहरुको संख्या बढी छ । मन्त्रालयको तथ्याङ्क हेर्दा कूल ज्यान गुमाउनेहरुमा ५५ प्रतिशतभन्दा बढी ६० वर्ष भन्दा माथिका व्यक्तिहरु रहेका छन् ।
आज २० देखि २९ वर्ष उमेर समूहका १ हजार ९३४ जना, ३० देखि ३९ वर्ष उमेर समूहका २ हजार ७६ जना, ४० देखि ४९ वर्ष उमेर समूहका १ हजार ५०५ जना, ५० देखि ५९ वर्ष उमेर समूहका १ हजार १०२ जना, ६० देखि ६९ वर्षका ६४५ जना, ७० देखि ७९ वर्षका ३१९ जना, ८० देखि ८९ वर्षका ९२ जना, ९० देखि १०० वर्षका १४ जना र उमेर नखुलेका ७० जनामा सङ्क्रमण देखिएको छ । अब आफ्नो बच्चाहरुको हेरचाह मा धेरै समय दिनु होला ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |