भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएका कारण बंगलादेशबाट करिब आठ हजार डोज ब्ल्याक फङ्गसको औषधि शनिबारबाट नेपाल ल्याउन शुरु गरिने भएको छ ।
बंगलादेशको बिकन फार्मास्यूटिकल्स लिमिटेडले कालो ढुसी उपचारका लागि उत्पादन गरेको औषधि एम्फोटेरिसिन ‘बी’ को पहिलो लट शनिबार नेपाल ल्याउन लागिएको हो ।
नेपालमा अहिलेसम्म १० जनामा कोलो ढुसीका बिरामी पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कालो ढुसीका बिरामी काठमाडौं, नेपालगञ्ज र वीरगञ्जमा फेला परेका छन् ।यसअघि कालो ढुसी छिमेकी मुलुक भारतमा फेला परेका थियो ।
कालो ढुसीबाट बच्नका लागि सफा र सुक्खा मास्क प्रयोग गर्ने, मास्क धोएर प्रयोग नगर्ने, नियमितरूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, घर बाहिर वा फोहरमा काम गर्नुपरे डिस्पोजेवल पञ्जाको प्रयोग गर्ने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, नुनिलो पानीले नाक सफा गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।
कोरोना जस्तै यो रोग नसर्ने भए पनि ४५ देखि ६५ वर्ष उमेर समूहका मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टिवायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेलाई कालो ढुसी लाग्ने मन्त्रालयले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |