शोभा काफ्ले
पोखरा
नेपालमा धेरै संघर्ष पछिको २०७२ को संविधानको स्थापना संगै आशलाग्दो बहुमतको सरकार गठन भए पनि स्थानीय सरकारका कमजोरी अनि भ्रष्टाचारले गर्दा आशा निराशामा बदल्यो। कुनै पार्टी विशेष नभएर नेपालको सारै टीठलाग्दो परिवेशलाई केही हदसम्म बुझेर अलिकति व्यंग सहित यो सानो गुनासो पत्र लेख्ने जमर्को गरेकी छु :-
मिति : २०७८/०२/११
सम्माननिय सरकार तथा आदरणीय सम्पूर्ण जनप्रतिनिधि, नेपाल
महोदय,
सरकार तिमी ढुक्क हौ म निर्धक्क भोट दिन्छु । सरकार दूर दराजका गरीब किसान तिम्रा चश्माको पावरबाट किन नदेखिएका होलान्, ती तिम्रा मान्छे होइनन्? हो सरकार बिहान झिसमिसेमै उठेर सूर्यास्तपछि पनि आँखा देखुन्जेलको उज्यालो रहुन्जेलसम्म मिहिनेत गर्ने ती किसानले उब्जाएको अन्न तिमीलाई के काम !
तिमी कुर्चीको खेलमा लाग्नेलाई झिसमिसे देखि सूर्यास्त पछिको उज्यालो रहुन्जेलसम्म बाँदर कुर्दा पनि झुकाएर वर्षभरिको मेहेनत नाश हुँदाको पीडा के थाहा। तिमीले पाउने चुनाव टिकट अरु कसैले पाउँदा तिमीलाई जति दुःख लाग्छ त्यो भन्दा सयौं गुणा दुःख लाग्छ वर्षभरि मेहेनत गरेर थन्काउने बेला भएको अन्न बाँदरले तहसनहस गरिदिएपछि । आजभन्दा एक वर्ष अगाडि माननीय आशा कोइराला खनाल (प्रदेश साम्सद) स्वम् हाम्रो भिमाद नगरपालिका २, तनहुँमा स्थल भ्रमण गरेर बाँदरले कृषकलाई पारेको क्षतिको अनुगमन गरेर छिटै केही सहयोग गर्ने भनेर दिएको आश्वासन खोई कहिले पूरा हुन्छ।
प्रिय माननीयज्यू कहिले हुन्छ मेरो ८० बर्षको हजुरबुवाको मेहिनतको सम्मान अनि कहिले सम्म मेरो ७० वर्षको हजुरआमा ले बाँदर कुर्ने ? अब त गर्नु केही, अब त हजुरको मतदाताको मतको सम्मान गर्नु । सरकार तिमी ढुक्क हौ, म निर्धक्क भोट दिन्छु किनकि वीरबहादुर, हरिबहादुर दाई देखि राम, श्याम काकासम्म जो दुई छाक टार्न त्यही २ टुक्रा जमीनमा दिनरात खटिन्छन् अनि तिनैको कमाई बाँदर लगाएतका जन्तुले भित्र्याउन दिँदैन, उनको पेटमा लात हानेको अनि उखु किसानलाई तिमीले गरेको आदर्श न्यायको साक्षी छु, निर्मलाले न्याय पाइन, उनी जस्ता लाखौं चेलीले सुरक्षित महसुस हुन पाएको कुराको पनि म जानकार छु।
कृषि प्रधान देश भनेर मैले पढ्दै आएँ तर विडम्बनाको कुरा नेपालीको मुख्य खाना चामल नै ठूलो मात्रामा आयात नगरे तिमी अनि तिम्रा झोले समेत भोकले मर्छन् सरकार। बिन्ती छ मेरा भाइ बहिनीहरुले तिमीले पढाउने दशकौं पुराना किताबका पाना हेर्दै नेपाल कृषि प्रधान देश हो भनेर घोक्नु नपरोस् । कम्तीमा समय सापेक्ष शिक्षा देऊ सरकार। ए सरकार, मात्र एकचोटि कृषक भएर सोच, खोल तिम्रा घिनलाग्दो चस्मा, बरु म नै किनीदिउला एउटा दुरपिन अनि देख्नेछौ तिम्रो मतदाताको समस्या पनि। आफ्नो कार्यकालमा राम्रो काम गर पाल्नुपर्दैन तिम्रो झोलेहरु। सम्मान गरिदेऊ कृषकको मेहेनतको; बचाइदेऊ वर्षभरि खाने अन्न, त्यसको भेटी स्वरूप लाखौं रुपैयाँ त दिन सक्दैनन् होला तर मलाई विश्वास गर माटो र पानीलाई पूजा गर्ने यी किसानको आशीर्वाद तिमीलाई आवश्य लाग्नेछ। तिम्रो झण्डा बोक्ने झोलेको लागि मात्र कति गर्छौ, अब त कोदालो बोकेर तिमीलाई पाल्ने किसानको लागि केही गर।
तिम्रो मतदाता
शोभा काफ्ले
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |