१२ बैशाख, काठमाडौं। नेपाल सरकारले जोखीम उठाएर अध्ययन अध्यापन नगराउन दिएको निर्देशन लत्याउँदै परिक्षा संचालन गरीरहेको रुपन्देहीको एक निजी विद्यालयको छात्रावासमा बस्ने बालिकाको शनिवार अचानक मृत्यु भएको छ।
तिलोत्तमा नगरपालिका नयाँमिलमा रहेको प्यारामाउण्ट बोर्डिङ स्कुलमा १० कक्षामा पढ्ने १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको विद्यालयले बताएको छ। विद्यालयका सह प्राचार्य लीलाधर किराँतले बालिका बिरामी भएपछि शनिवार बिहानै अभिभावक बोलाएर जिम्मा लगाएको र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको खबर पाएको बताए। बालिकाका आफन्त भास्कर भण्डारीले बालिकालाई सिकिस्त अवस्थामा विद्यालयबाट निकालेर नजिकैको क्रिमसन अस्पताल लैजादै गर्दा मृत्यु भएको बताए।
‘हामीले खबर पाउदा बालिकाको अवस्था निकै गम्भिर थियो। उनको शरीर निकै तातेको थियो । तत्कालै नजिकैको अस्पताल पुर्याउँदा डाक्टरले उनको मृत्यु भइसकेको बताए’ भण्डारीले भने। अस्पताल ल्याउनु अघि नै बालिकाको मृत्यु भइसकेको क्रिमसन अस्पतालका चिकित्सकले बताएका छन।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |