प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत सोलुखुम्बूको नेचासल्यान र सोताङ गाउँपालिकाका विभिन्न सडकखण्ड कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको छ ।
गत २ चैतमा गरिएकाे सम्झौता अनुसार आर्थिक वर्ष ०७८/०७९ मा कालोपत्रेको काम सकिने गरी लेकखर्क-सोताङ खण्डको ३९ किमी सडक कालाेपत्रे ठेक्का सम्झौता गरिएको हो ।
कालोपत्रेका लागि गाउँपालिका, स्थानीय सरकार र प्रदेश सरकारबीच सम्झौता भएर काम सुरु गर्न लागिएको प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेतले बताए ।
पहिलो चरणमा लेकखर्क-सोताङ खण्डअन्तर्गत थुलुङ दूधकोसी गाउँपालिका ६ लेकखर्कदेखि सोताङ प्रशासनिक भवनसम्मको सडक कालोपत्रे गरिने छ भने दोस्रो चरणमा सोताङ गाउँपालिकादेखि महाकुलुङ गाउँपालिका जोड्ने सडक कालोपत्रे गरिने बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार लेकखर्क-सोताङ खण्डको कालोपत्रे सकिएपछि सोताङदेखि महाकुलुङ जोड्ने सडक कालोपत्रेको काम सुरु गरिने छ ।
कालोपत्रे गर्न लागिएको लेकखर्क-सोताङ खण्डको ट्रयाक खोल्ने काम यसअघि नै सकिएको छ भने २ किमी सडक ग्राेभेल छ । यस्तै धुले सडकखण्ड ३७ किमी छ भने सो स्थानमा पक्की सडक छैन ।
यस्तै नेचासल्यान गाउँपालिकाअन्तर्गत सल्लेरी–रमिते–तिङ्ला, बरडाँडा–दोदी–खहरे–त्रिवेणी-बिहीबारे सडकखण्ड कालोपत्रे गरिने भएको हो ।
दूधकुण्ड नगरपालिका ५ देखि नेचासल्यान गाउँपालिका ३ सम्म करिब ३८ किमी सडक कालोपत्रे गर्न लागिएको हो ।
सांसद बस्नेतका अनुसार जिल्लाका अन्य स्थानीय तहमा पनि कालोपत्रेका लागि चाँडै सम्झौता गरी काम सुरु गरिने छ ।
ट्रयाक खोल्ने काम अगावै सकिए पनि भौगोलिक विकटताका कारण कालोपत्रेको काम चाँडो सुरु गर्न नसकिएको उल्लेख गर्दै सम्झौता गरेको मितिभित्रै सकिनेमा आफू विश्वस्त रहेको बस्नेत बताउँछन् ।
ग्रामीण क्षेत्रको निकै व्यस्त मानिने याे सडकखण्ड वर्षाको समयमा हिलाम्य र हिउँदको समयमा धुलाम्य हुने गरेको छ । वर्षाको समयमा हप्तौंसम्म सडक अवरुद्ध हुँदा अत्यावश्यक सामग्री अभाव हुने गरेको स्थानीयको गुनासो छ ।
सडक कालोपत्रे भएपछि आवतजावत सहज हुने स्थानीयबासी तथा सवारी चालकले विश्वास गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |