नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृति रहेको टिप्पणी गरेका छन् । सोमबार नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।
उनले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीतर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले अपनाएको शैली हिटलरी भएको बताए । यस्तै प्रधानमन्त्री बनाउन जसले भर्याङ चढाए उसैलाई ओलीले लात हानेर सडकमा पुर्याइदिएको पनि टिप्पणी गरे ।
यस्तै प्रधानमन्त्री ओलीले केही खास मान्छेहरूलाई किनेर भजनमण्डली बनाएको पनि उनले आरोप लगाए ।
आफ्नो आदेशअनुसार काम गर्ने भजनमण्डलीबाट गरिएको प्रचार कुप्रचार हुने र अन्त्यमा हिटलर जस्तै पतन भएर जाने पनि बताउँदै उनले भने, ‘हाम्रै देशमा कतिपयहरू छन् नजितुन्जेलसम्म ठूलाठूला कुरा गर्छन् जितेको भोलिपल्ट आफूलाई सम्राट ठान्ने गर्दछन् ।’
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |