काठमाडौँमा जारी अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटका बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । सोमबार नेपाल क्रिकेट सङ्घ (क्यान)ले विज्ञप्ति जारी गर्दै सरकारको आदेशअनुसार दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको जनाएको छ ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति जारी गर्दै नेपालमा बढ्दो कोभिड–१९ को असर कम गर्न सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार त्रिकोणात्मक खेलका बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको जनाए ।
आजको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी व्यक्तिहरू उपस्थित नहुन, दर्शकसहितको खेलकुद प्रतियोगिता सञ्चालन गर्न नपाइने आदेश जारी गरेको थियो । सोही आदेशअनुसार क्यानले त्रिकोणात्म खेलका बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरेको सचिव प्याकुरेलले जनाएका छन् ।
गत शनिबारबाट सुरु भएको नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी–ट्वान्टी सिरिज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको छ । जसमा घरेलु टिम नेपालले लगातार दोस्रो जित निकालेको छ ।
सोमबार आफ्नो दोस्रो खेल खेलेको नेपालले मलेसियामाथि ९ विकेटको जित निकालेको हो । यसअघि नेपालले नेदरल्याड्सलाई पनि ९ विकेटले नै पराजित गरेको थियो ।
आगामी ११ वैशाखसम्म हुने सिरिज डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |