नेकपा एमालेले माधवकुमार नेपालसहित ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने र गराउने ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए।
बैठकले पार्टी अनुशासन विपरित गतिविधि गर्न नेतृत्वदायी भूमिका खेलेको भन्दै माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई अन्तिम चेतावनीपूर्ण स्पष्टीकरण सोधिएको हो। त्यसैगरी कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला,कुर्मराज शाही,नन्दसिंह बुढा र अमरबहादुर थापालाई पनि दुई दिन भित्र जवाफ माग्ने गरी स्पष्टीकरण सोध्ने निर्णय भएको छ।
उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारबाही गर्ने निर्णय भएको ढुंगेलले बताए। स्पष्टीकरणको जवाफ प्राप्त भएपछि नेताहरूमाथि विधानबमोजिम थप कारवाही हुने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। बैठकमा माधवसमूहका नेताहरु उपस्थित भएका थिएनन्। बैठकमा अध्यक्ष ओलीले ३२ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कर्णालीमा एमालेका माधव समूहका चार सांसदले ‘फ्लोर क्रस’गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको थियो। मुख्यमन्त्री शाहीको पक्षमा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका चार सांसदले मत दिए। उनीहरूले मुख्यमन्त्री शाहीलाई साथ दिएपछि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने एमालेको प्रयास विफल भएको हो।
आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भन्दै एमाले संसदीय दलको बैठकले सरकारमा सहभागी तीन मन्त्रीलाई राजीनामा दिन लगाएको थियो। दलको निर्णयअनुसार मन्त्रीबाट राजीनामा दिएका उनीहरूले शुक्रबार पार्टीको ह्विप उल्लंघन गरेका हुन्।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |