नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाएको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन काठमाडौँ शाखाले नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिहरूलाई बधाई तथा सम्मान दिन सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले ओली सरकारले राजनीतिक र नैतिक हैसियत गुमाउँदा संसदको सामना गर्न नसकेकाले हठातमा अधिवेशन अन्त्य गरेको बताए ।
मङ्गलबार संसद बैठक तय भइसकेको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपरान्ह १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी छन् । नेता सिंहले असंवैधानिक रुपमा संसद विघटन गरेका प्रधानमन्त्री ओलीले राजनीतिक र नैतिक हैसियत गुमाएको र संसदलाई सामना गर्न नसकेको बताए । संसदलाई स्थगन गर्ने कुराबाट यो सरकार कति कमजोर छ भन्ने स्पष्ट भएको पनि उनले बताए ।
राजनीतिक, संवैधानिक र नैतिक हिसाबले हैसियत गुमाइसकेको ओली सरकारलाई हटाई काङ्ग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने पनि नेता सिंहले बताए । चुनावबाट काङ्ग्रेसलाई प्रतिपक्षमा बस्न म्यान्डेट प्राप्त भए पनि कम्युुनिस्ट सरकारले हैसियत गुमाएको अवस्थामा काङ्ग्रेसको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्नुपर्ने बताए । उनले पारदर्शी चुनाव गराउनका लागि पनि काङ्ग्रेस नेतृत्वको सरकार चाहिने बताए ।
सरकारले कोरोना फैलिन सक्ने भन्दै नागरिक र अन्य राजनीतिक दलहरूलाई भेला हुन नदिने तर सरकार र सत्ताधारी दल आफैँले ठाउँठाउँमा सभा र भेला गर्दै हिँडेको पनि बताए । ओली नेतृत्वले गरेका कुनै पनि भेला कोरोनामुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |