छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिन थालेपछि स्थिति भयावह बनेर गएको छ ।
कोरोनाविरुद्ध आफ्नै मुलुकमा बनेकोसहित विभिन्न खोप प्रयोगमा ल्याएको भारतमा सङ्क्रमण नियन्त्रण हुनुपर्ने भए पनि फैलावट झन् तीव्र बनेको हो । दैनिक दुई लाख ५० हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिन थालेका छन् । भारत सरकारले कोरोना नियन्त्रणका लागि विभिन्न स्थानमा कफ्र्यू, लकडाउन र निषेधाज्ञा जारी गर्नु परेको छ । भारत कोरोनाबाट आक्रान्त बनिरहेका बेला खुला सीमा रहेको नेपाल त्यसको उच्च जोखिममा परिरहेको छ ।
नेपालसँग खुला सीमा रहेको भारतमा पछिल्लो २४ घण्टाभित्र दुई लाख ७५ हजार तीन सय छ जनामा कोरोना पुष्टि भयो । अघिल्लो दिन दुई लाख ६० हजार जनामा सङ्क्रमण देखिएको थियो । दैनिक थपिने नयाँ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अवस्था जटिल बनेको विश्लेषण गर्न थालिएको छ ।
भारतमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख ५७ हजार सात सय ६७ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड २९ लाख ४८ हजार आठ सय ४८ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोना मुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । १९ लाख ३० हजार एक सय २६ जनाको उपचार जारी छ ।
उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारतमा कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको छ । एकै दिन एक हजार छ सय २५ सङ्क्रमितको मृत्यु भयो । हालसम्म सङ्क्रमितमध्ये एक लाख ७८ हजार सात सय ९३ जना भारतीयले ज्यान गुमाइसकेका छन् । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।
कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ४२ हजार तीन सय ८४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड २४ लाख तीन हजार छ सय ६४ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ४९ लाख ६१ हजार १० जना उपचारपछि निको भएका छन् ।
६८ लाख ६१ हजार पाँच सय ९३ जनाको उपचार जारी रहेकोमा नौ हजार आठ सय १४ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा तीन सय १० सङ्क्रमितले ज्यान गुमाए । हालसम्म अमेरिकामा कोरोना सङ्क्रमित पाँच लाख ८१ हजार ६१ जनाको मृत्यु भइसकेको छ ।
ब्राजिलमा एकै दिन ४२ हजार नौ सय ३७ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ३९ लाख ४३ हजार ७१ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड २३ लाख ९१ हजार पाँच सय ९९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
११ लाख ७८ हजार ३० जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टाभित्र एक हजार पाँच सय ५३ सङ्क्रमितले ज्यान गुमाए । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन लाख ७३ हजार चार सय ४२ पुगेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।
विश्वमा एकै दिन छ लाख ९७ हजार दुई सय ५५ जना नयाँ सङ्क्रमित थपिए । सङ्क्रमित सङ्ख्या १४ करोड १९ लाख ८४ हजार पाँच सय सात पुगेको छ । सङ्क्रमितमध्ये १२ करोड छ लाख ७३ हजार नौ सय चार जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त बनिसकेका छन् ।
एक करोड ८२ लाख ७८ हजार चार सय २१ जनाको उपचार जारी छ । उपचाररतमध्ये एक लाख सात हजार तीन सय ४७ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा आठ हजार आठ सय ६७ सङ्क्रमितको मृत्यु भयो । विश्वका कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ३० लाख ३२ हजार एक सय ८२ पुगेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |