भारतमा कोरोना संक्रमणको महामारी भयावह बन्दै गएको छ । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६१ हजार ५०० कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा यो संख्या २ लाख ३४ हजार ६९२ थियो ।
पछिल्लो २४ घण्टामा भारतमा एक हजार ६२५ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा १ हजार ३४१ कोरोना संक्रमितले ज्यान गुमाएका थिए ।भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ७७ हजार १५० पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ४७ लाख ८८ हजार १०९ पुगेको तथ्यांक छ ।
भारतमा अहिलेसम्म एक करोड ५० लाख ५७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक लाख ७८ हजार सात सयभन्दा धेरैको ज्यान गइसकेको छ । भारतमै देखिएको नयाँ भेरियन्ट, बेलायतमा देखिएको यूके भेरियन्टसहित अहिले भारतमा कोरोना भाइरसको दोश्रो लहर उत्कर्षमा पुगेको छ ।
खोप अभियानलाई तीव्र बनाएर झण्डै ११ करोड मानिसलाई खोप लगाइसकेको बताए पनि भारतमा नयाँ सङ्क्रमित थपिने क्रम दिनदिनै बढिरहेको छ । अहिले अस्पतालहरुमा अक्सिजन, औषधि र कतिपय ठाउँमा बेड नै अभाव हुन थालेको छ ।
महामारीको अवस्था भयावह पुगेको भए पनि रोकथामका लागि प्रभावकारी काम नभएको भन्दै विपक्षी दल लगायत नागरिकहरुले सरकारको आलोचना गरेका छन् । भारतमा अहिले पनि चुनावी र्याली, महाकुम्भ जस्ता मेला, बजारलगायतका ठाउँमा स्वास्थ्य मापदण्डको खुलेआम उलङ्घन भइरहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |