६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
वर्तमान सरकार निरङ्कुश र असंवैधानिक भएको भन्दै उनले आफूहरु त्यसलाई ठेगान लगाउने अन्तिम तयारीमा रहेको बताए । चितवनको माढीमा आइतबार युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘निरङ्कुश, स्वेच्छाचारी, अलोकतान्त्रिक र असंवैधानिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा हामी छौं ।’
‘कर्णालीमा के भयो ? तपाई हामीले देखेका छौं । कर्णाली सरकार अपदस्थ गर्ने केपी ओली र उनको गुटको दुस्साहसको के नतिजा निस्कियो, तपाई हामीले देखेका छौं । गण्डकी के हुँदैछ तपाईँ हामीले देखेका छौं र लुम्बिनी प्रदेशमा के हुँदैछ, तपाई हामीले देख्दैछौं ।’
केन्द्रमा पनि संसद विघटनविरुद्ध सडकमा गएका दलहरु मिलेर जनपक्षीय र मुद्दामा आधारित सरकार बनाउनुपर्ने उनले बताए । चितवनबाट काठमाडौं गएलगतै दलहरुको बैठक बस्ने भन्दै प्रचण्डले भने, ‘मलाई लाग्छ, केन्द्रमा नै केहीदिनमा एउटा नयाँ कायापलट हुनैपर्छ, हुँदैछ ।’
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |