६ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ ।
बैठक सोमबार दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले २६१ जनालाई बैठकमा बोलाइएको र उनीहरुलाई बैठकका एजेण्डाबारे पनि जानकारी गराइएको बताए ।एमालेका अनुसारसो बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ ।
यद्यपि कमिटीको वैधानिकतामा प्रश्न उठाउँदै आएको झलनाथ खनाल र माधव नेपाल पक्षका नेताहरुले बैठकमा सहभागी नहुने बताएका छन् । एमाले उपाध्यक्ष एवम् माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले आफूहरु बैठकमा सहभागी नहुने बताए । यो महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएको भन्दै उनले आफूहरु बैठकमा नजाने बताइन् ।यसैबीच एमाले अनुशासन कमिटीका अध्यक्ष अमृतकुमार यो बैठकले पार्टीको आन्तरिक विवादलाई थप असहज बनाउने भन्दै बैठक रोक्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |