प्रदेश १ मा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेपछि प्रदेश १ स्तरीय सीसीएमसी बैठकले धेरै मान्छे सहभागी हुने सामूहिक जमघट, भेला, सभा सम्मेलन, खेलकुद र हाट बजारलगायतमा रोक लगाउने निर्णय गरेको छ ।
आइतबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले कोरोनाको दोश्रो वेभको अवस्था र प्रभावबारे छलफल गर्नुका साथै कोरोनाको प्रभाव र संक्रमणको स्थिति हेरेर विद्यालय सञ्चालनबारे निर्णय लिने अधिकार स्थानीय पालिकाहरुलाई दिइएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
त्यस्तै, उनले सीमा नाकामा कडाई गर्ने र सम्भावित खतरालाई ध्यान दिएर कार्ययोजना बनाउने निर्णय भएको बताए ।
मन्त्री कार्कीले विगतको अनुभवको आधारमा क्वारेन्टाइन, आइसोलेसन, उपचार केन्द्र र अक्सिजनलगायतको व्यवस्थापन गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुलाई परिचालन गर्ने निर्णय भएको बताए ।
प्रदेश १ को राजधानी विराटनगरका अधिकांश विद्यालयहरु परीक्षा तयारीको लागि एक हप्ता बन्द गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |