मानसिक सन्तुलन गुमाएकी अन्दाजी २६ वर्षीया युवतीको बलात्कार पछि हत्या गरेको आशंकामा प्रहरीले उदयपुरका एक युवकलाई पक्राउ गरेको छ ।
बैशाख ३ गते रौतामाई गाउँपालिका ७ स्थित नवज्योती सामुदायिक वनको हिले खोल्सीमा भेटिएको मानव कंकालको अनुसन्धानबाट बलात्कारपछि हत्या भएको रहस्य खुलेको हो ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीय २४ वर्षीय राजु आछामेलाई शनिबार पक्राउ गरी आइतबार सार्वजानिक गरेको हो । तराइ मूलका जस्तो देखिने ती युवतीलाई आछामेले बलात्कारपछि ढुङगाले टाउकोमा हानेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले बताए ।
गत चैत ११ गते आछामेले मानसिक सन्तुलन गुमाएकी ती युवतीलाई बेलुकी ६ वजे जबर्जस्ती हातमा समातेर जंगलतर्फ तान्दै लगेर बलात्कार गरी हत्या गरेको प्रारम्भिक वयानबाट खुलेको उनले बताए ।
पछिल्लो एक महिनायता ती युवती उक्त क्षेत्रमा मागेर हिँड्ने गरेको स्थानीय होमबहादुर बस्नेतले बताए । घाँस, दाउरा लिन जाने महिलाहरुले जंगलको खोल्सीमा चुरा, पोते सहितको मानव कंकाल देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
कंकाल फेला परेलगत्तै प्रहरीले तत्काल अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा घटनाको दिन आछामेसँगै ती युवती रहेको खुलेपछि उनलाई पक्राउ गरी सोधपुछ गर्दा हत्याको रहस्य खुलेको एसपी दाहालले बताए । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको ढुङगा र आरोपितले लगाएको टोपीसमेत बरामद गरेको जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |