बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले कप्तानका रूपमा पहिलो पटक कोपा डेल रेको उपाधि जितेका छन् । यसअघि २०१८ मा बार्सिलोनाले कोपा डेल रेको उपाधि जित्दा कप्तानका रूपमा आन्द्रेस इनियस्टा थिए । इनियस्टा जापान गएपछि मेस्सीले बार्सिलोनाको कप्तानी गर्दै आएका छन् ।
मेस्सीको कप्तानीमा बार्सिलोनाले शनिबार राति एथ्लेटिक बिल्बाओमाथि ४–० गोलको शानदार जित निकाल्दै कोपा डेल रेको उपाधि जितेको थियो । सेभिल्लास्थित स्टेडियो डी कार्टुजामा बार्सिलोनालाई जिताउन कप्तान मेस्सीले दुई गोल गरे भने एन्टोइन ग्रिजम्यान र फ्रेन्की डी योङले समान एक–एक गोल गरे ।
मेस्सीले चार मिनेटभित्र दुई गोल गर्दै बार्सिलोनालाई शानदार जित दिलाएका थिए । उनले खेलको ६८औँ मिनेटमा र ७२औँ मिनेटमा गोल गरेका थिए ।
यता, यस गोलसँगै मेस्सीले कीर्तिमान बनाएका छन् । अर्जेन्टिनी स्टार मेस्सीले कोपा डेल रेको फाइनल खेलमा सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । मेस्सीले स्पेनका पूर्वखेलाडी टेल्मो जाराको कीर्तिमानी आफ्नो नाममा सारेका हुन् ।
जाराले ८ गोल गरेर कीर्तिमान बनाएका थिए । तर, शनिबार राति २ गोल गरेका मेस्सीले कोपा डेल रेको १० फाइनल खेलमा ९ गोल गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |