ध्वनि प्रदूषणले मुटुको स्वास्थ्यलाई बिगार्ने अध्ययनले देखाएको छ ।अत्यधिक वा चर्को आवाजले मुटुको समस्या निम्त्याउँछ । युरोपेली हार्ट जर्नलमा सार्वजनिक अध्ययनअनुसार लामो समयसम्म ट्राफिकको आवाजको बीचमा रहँदा हृदय रोगहरूको जोखिम बढ्छ । सडक र एयरपोर्ट छेउछाउमा बस्ने मानिसमा ट्राफिक र हवाइजहाजको आवाजको प्रभाव जान्नका लागि पाँच सय जना मानिसको पाँच वर्षसम्म अध्ययन गरिएको थियो ।
औसत २४ घण्टामा पाँच डेसिबलले आवाजको मात्रा बढ्दा हृदयघात र स्ट्रोकको खतरा ३५ प्रतिशतसम्म बढ्ने अन्वेषकहरूले पत्ता लगाएका छन् । अनुसन्धानमा संलग्न व्यक्तिहरूमा आवाजको प्रभाव बुझ्नका लागि उनीहरूको मस्तिष्कको स्क्यान गरिएको थियो । अध्ययनको क्रममा आवाजको बृद्धिले मानिसको दिमागको त्यो भागलाई असर गर्छ जसले तनाव, अशान्ति र डरलाई नियन्त्रण गर्न जिम्मेवार हुन्छ भन्ने पत्ता लाग्यो ।
तनाव र चिन्ता बढ्दा शरीरले यसविरूद्ध लड्न एड्रेनालाइन र कोर्टिसोललगायत तनाव हार्मोन उत्पादन गर्छ । तनाव र मन अशान्त भएको स्थितिमा, रक्तचाप बढ्नुका साथै पाचन क्षमता घट्छ । शरीरमा फ्याट र चिनीको सञ्चालन द्रुत गतिमा हुन थाल्छ, जसले मुटुलाई असर गर्छ ।
नयाँ अनुसन्धानका अनुसार अधिक आवाज हुँदा मुटुका धमनीहरू पनि सुन्निने हुन्छ । जसले मुटुमा थप दबाब बढाउने गर्छ । अनुसन्धान रिपोर्टका अनुसार ध्वनि प्रदूषणले निद्रामा पनि समस्या निम्त्याउने हुँदा यसले मेटाबोलिजमलाई पनि असर गर्छ । आवाज वा ध्वनिलाई डेसिबलमा मापन गरिन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार ५५ डेसिबलभन्दा बढीमा ध्वनिको मात्रा स्वास्थ्यलाई हानी गर्छ । कार र ट्रकको आवाज लगभग ७० देखि ९० डेसिबल हुन्छ भने साइरन र हवाइजहाजको आवाज एक सय २० डेसिबल वा बढी हुन्छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |