किसानले पालेका गाईभैंसी तथा बङ्गुर मारेर हैरान पारेको चितुवालाई स्थानीयबासीले खोरमा पारेका छन् । गण्डकी गाउँपालिका ५ सानो दर्बुङका किसानले चितुवालाई खोरमा पारेका हुन् ।
गाउँमा लामो समयदेखि आतंक मच्चाउदै आएको चितुवालाई खोरमा पारिएको भीमकुमारी गुरुङले जानकारी दिइन् । ‘दुई महिनाको अवधीमा चितुवाले रानागाँउमा १७ वटा बाख्रा र गोरु, सयमुरेमा १० वटा गाईगोरु र राइथोकमा पाँचवटा बंगुर तथा ५ भन्दा धेरै बाख्रा मारेको छ’, उनले भनिन्, ‘हैरान पारेपछि स्थानीयबासीले वन डिभिजन कार्यालयसँग समन्वय गरी खोर बनाएका थिए । शुक्रबार बिहान तीन बजे चितुवा खोरमा पर्यो ।’ सो चितुवा व्यवस्थापनका लागि वन डिभिजनसँग अनुरोध गरिएको उनले बताइन् ।
चितुवा १५० सेमि लामो र ६१ सेमि अग्लो रहेको वन डिभिजन कार्यालयले जनाएको छ । पासोमा परेको चितुवालाई वन डिभिजन कार्यालय गोरखाले शनिबार साँझ उपचारका लागि चितवन पुर्याएको जनाएको छ । ‘हामीले चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय गरी चितवन लगेका छौँ’, ‘डिभिजनल वन अधिकृत अशोक श्रेष्ठले भने ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |