वीरगन्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा आइतबार दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ५१ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
नारायणी अस्पतालमा शनिबार दिउँसो भर्ना भएकी ती महिलाको उपचारका क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएको हो । ज्वरो , खोकी र निमोनियाको समस्या भएपछि शनिबार उपचारका लागि गण्डक अस्पतालमा पुगेकी ती महिलाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि शनिबार नै दिउँसो नारायणी अस्पताल भर्ना गरिएको थियो ।
त्यही उपचारका क्रममा उनको आइतबार दिउँसो मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक निरज सिंहले जानकारी दिए । यसअघि गत बिहीबार पनि नारायणी अस्पतालमै वीरगन्ज २ की ४२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो ।
गत मङगलबार पनि नारायणी अस्पतालमै पर्साका १ र बाराका १ जना गरी २ जना संक्रमितको मृत्यु भएको थियो । सोमबार पर्साका १ जना संक्रमित पुरुषको चितवनको भरतपुरमा मृत्यु भएको थियो । पछिल्लो एक हप्तामा कोरोना संक्रमणका कारण पर्सा र बाराका गरी ५ जनाको मृत्यु भइसकेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |