५ बैशाख, काठमाडौं । पाँच वर्षअघि सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा पुगिसकेको छ । तर हालसम्म ३७ लाख ४२ हजार ६५६ जना अर्थात् १२.८४ प्रतिशतमात्रै बीमा कार्यक्रममा आवद्ध रहेको स्वास्थ्य बीमा बोर्डको तथ्याङ्कमा उल्लेख छ ।
स्वास्थ्य बीमा कार्यक्रम काठमाडौं र ललितपुरमा अझै लागू हुन सकेको छैन । बीमा कार्यक्रम पुग्न बाँकी यी दुई जिल्लामा यही आर्थिक वर्षभित्र लागू गरिने स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए ।
पूरा पैसा तिरेर स्वास्थ्य बीमामा सहभागी हुनेमा २७ लाख ४० हजार २०० जना अर्थात् ९.४० प्रतिशतमात्रै छन् । बीमामा सहभागीमध्ये सरकारले अति गरिब ३.४४ प्रतिशत नागरिकको पैसा तिरेर स्वास्थ्य बीमा गरिदिएको छ । बीमितमध्ये ७० प्रतिशतले बीमा नवीकरण गरेका छैनन् ।
नेपाल सरकारले ०७२ चैत २५ देखि कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरे पनि ४ वर्षदेखिको भुक्तानी अझै चुक्ता गर्न सकेको छैन । सेवा प्रदायक संस्थाले सेवा दिएबापत रोकिएको रकम बोर्डले आगामी असार मसान्तसम्म सबै चुक्ता गर्ने बोर्ड अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले बताए ।
यही वैशाख महिनाभित्र काठमाडौं र ललितपुर जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदैछ । अधिकांश जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भए पनि राज्यले यस बीमाको बारेमा पूर्ण रुपमा प्रचारप्रसार गर्न नसक्दा सहभागीको संख्या न्यून भएको जनस्वास्थ्यविज्ञ बताउँछन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |