नेपाली कांग्रेस र नेकपा एमालेको सहयोग पाएर मुख्यमन्त्री पद जोगाउन सफल कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोलि (आइतबार) मन्त्रीमण्डल विस्तार गर्न लाग्नुभएको छ ।
प्रदेशका एक सांसदले जानकारी दिएअनुसार मुख्यमन्त्री शाहीले आफ्नो पद जोगाउने कांग्रेस र एमालेका सांसदहरुलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।
मुख्यमन्त्री शाहीले शुक्रबार आफ्नो पद जोगिएसँगै सरकार विस्तारको तयारी अन्तिम चरणमा पुर्याउनु भएको पनि ती सांसदले बताएका छन् । एमालेको माधवकुमार नेपाल समूहका सांसद प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले नेकपा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मत दिएका थिए।
कर्णाली प्रदेशमा एमालेका १९ (सभामुखबाहेक), माओवादीका १२, कांग्रसका ६ र राप्रपाबाट १ गरी ३९ सांसद रहेका थिए । शुक्रबार एमालेका तर्फबाट मुख्यमन्त्री शाहीलाई मत दिने ४ जनाभध्ये ३ जनालाई पार्टीबाट निष्कासन गरिएको छ ।
यसअघि कर्णाली प्रदेशको आर्थिक मामिलामन्त्री प्रकाश ज्वालालाई भने महाधिवेशन प्रतिनिधि रहेकालाई उनलाई पनि कारबाहीका लागि शनिबार सिफारिस गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |