पासपोर्ट बनाउन तथा नवीकरण गर्न राष्ट्रिय परिचय नम्बर अनिवार्य चाहिने भएको छ । आगामी साउनदेखि सरकारले यो प्रावधान लागू गर्न लागेको हो । राहदानी नियमावली नै संशोधन गरेर सरकारले पासपोर्टका लागि परिचयपत्र नम्बर अनिवार्यताको प्रावधान राखेको हो । यो प्रणाली लागू भएपछि कसैले पनि झुटा विवरणका आधारमा पासपोर्ट बनाउने सम्भावना हुँदैन।
परिचयपत्र नम्बर भएपछि नागरिकता भने प्रमाणीकरण गराइराख्नुपर्दैन । हाल पासपोर्ट बनाउन नागरिकता सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित गराउनुपर्ने प्रावधान छ।
‘यस सम्बन्धमा राहदानी विभाग र हामीबीच समझदारी भइसकेको छ,’ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले भने, ‘१६ वर्षमाथिका नागरिकले पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउनुपर्छ ।’ परिचयपत्रका लागि विवरण दर्ता गरेलगत्तै परिचयपत्र नम्बर लिन सकिन्छ।
परिचयपत्र बनाउन भने समय लाग्छ । १६ वर्षमुनिका नागरिकको हकमा भने नाबालक परिचयपत्रकै आधारमा पासपोर्ट बन्नेछ । पछि भने १० देखि १६ वर्ष उमेरका नागरिकलाई छुट्टै परिचयपत्र दिने विभागको तयारी छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |