कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिँदै छन् ।आज (शुक्रबार) दिउँसो बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् ।
सरकार गठनदेखि नै चर्को दबाब खेप्दै आएका मुख्यमन्त्री पछिल्लो समय नेकपा एमालले समर्थन फिर्ता लिएपछि प्रदेश सभामा विश्वासको मत लिन तयार भएका हुन् ।
हाल ३९ प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा मुख्यमन्त्री शाहीको दल नेकपा (माओवादी केन्द्र)का १२ जना सांसद छन् ।मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेश सभाका २० जना सांसदको समर्थन चाहिन्छ ।
मुख्यमन्त्री शाहीको सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेका १९ जना सांसद (प्रदेशसभा सभामुख राजबहादुर शाहीलाई छाडेर) सांसद छन् ।
यस्तै, नेपाली कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । कांग्रेस र राप्रपाले पनि साथ दिएको अवस्थामा शाहीको पक्षमा १९ जना सांसदको मात्रै समर्थन जुट्न सक्छ । यस्तो अवस्थामा प्रदेश सभामुख राजबहादुर शाहीको मत निर्णायक हुन सक्छ ।
सभामुखले निर्णायक मत दिँदा उनले आफू समर्थित दल (नेकपा एमाले)लाई सहयोग गर्ने सम्भावना पनि छ ।प्रतिकुल अवस्थामा पनि विश्वासको मत लिन तयार हुनुले मुख्यमन्त्री शाहीले अन्य दलसँग आन्तरिक गठजोड गरेको हुनसक्ने अनुमान गरिएको छ ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा प्रधानमन्त्री केपी शर्मा ओली निकटका प्रदेशसभा सदस्य यमलाल कँडेलको अगुवाइमा मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा नै अविश्वासको प्रस्ताव पेस गरिएको थियो ।
तर, त्यतिबेला नेता माधव कुमार नेपाल समूहका सांसदले अविश्वास प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको थियो ।सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलापछि ब्यूँतिएको नेकपा एमालेको नेपाल समूहले मुख्यमन्त्री शाहीलाई साथ दिँदै आएको थियो ।
तर, पछिल्लो समय नेपाल समूहका मन्त्रीहरु पनि सरकारबाट फिर्ता भइसकेका छन् ।नेकपा एमालेको संस्थापन (ओली) पक्षले मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्न ह्वीप नै जारी गर्ने चर्चा छ ।
तर, नेकपा माओवादी केन्द्र कर्णालीका नेताहरु भने सरकार जोगिनेमा ढुक्क जस्तै छन् । दैनिक अनलाइनको सम्पर्कमा आएका माओवादी केन्द्रका एक नेताले भने, ‘परिस्थिति जे पनि हुन सक्छ । तर, अहिलेको परिस्थिति बद्लिएन भने प्रदेश सरकार जोगिन्छ ।’
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |