प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले पहिचान नखुलेका शवको संख्या शून्यमा झार्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले पहिचान नखुलेका शवहरुको संख्या बढ्दै गएपनि यसको व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै पहिचान नखुलेका शवको संख्या शून्यमा झार्नेगरि काम गर्न सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तै बैठकले कम्तीमा पनि २० वर्ष बेवारिसे शवको अभिलेख राख्न सरकारलाई निर्देशन दिएको छ ।
बैठकमा कारागार सम्बन्धी कानूनलाइ संशोधन एवं एकीकरण गर्न बनेको बिधेयक र बेवारिसे शवको पहिचान एवं व्यवस्थापन सम्बन्धमा छलफल भएको थियो ।
छलफलका क्रममा गृहमन्त्री राम बहादुर थापा बादलले राजबन्दीका बिषयमा राजनीतिक रुपमा छलफल गरेर आवश्यक कानून तर्जुमा गर्नुपर्ने धारणा राख्नुभयो ।
बैठकमा एमालेका सांसद झपट रावलले आफू बस्ने घरमा भएको ढुंगा प्रहार भएको जानकारी गराउनुभएको थियो ।
उहाले आफूले सुरक्षाका लागि १०० र कोटेश्वर प्रहरी कार्यालयमा पनि फोन गर्दा पनि नउठेको बताउनुभयो ।
रावलले सुरक्षा निकाय परिचालन गर्ने कुरामा सुधार गर्नुपर्ने बताउनुभयो । त्यस्तै उहाले यसबारे छानविन गर्न गृहमन्त्री र गृहसचिवको ध्यानाकर्षण गराउनुभएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |