राति निदाउनुअघि रिस समाप्त गर्नाले मानिस लामो जीवन बाँच्ने तथा स्वास्थ्य रहने अमेरिकी वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।
अमेरिकाको ओरेगन स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूले गरेको अनुसन्धानले झगडा बिर्सेर मन शान्त राखी सुतेमा मानिस लामो उमेर बाँच्ने र स्वस्थ रहने दाबी गरेको हो । अनुसन्धानका अनुसार, एक मानिसले कुनै पनि कारण भएको झगडालाई दिनको अन्त्यमा समाधान गरे यसले अर्को दिनलाई असर गर्दैन ।
दुई हजारभन्दा बढी मानिसमा गरेको अनुसन्धानमा ३३ वर्षदेखि ८२ वर्ष उमेरका मानिसलाई समावेश गरिएको थियो । आठ दिनसम्म प्रत्येक व्यक्तिको भावना र अनुभवको बारेमा प्रश्न गरिएको थियो । अनुसन्धानको क्रममा ४५ वर्ष वा सोभन्दा कम उमेर समूहका मानिसको तुलनामा वृद्ध मानिसहरूले चाँडो नकारात्मक कुरा बिर्सने अन्वेषकहरूको टोलीले पत्ता लगाएको छ ।
नकारात्मक कुरालाई आफ्नो दिमागमा ल्याउन नदिएमा मानसिक रूपमा स्वस्थ रहन सकिन्छ । यसविपरीत, कुनै नकारात्मक कुरा मस्तिष्कमा रहिरहेमा तनावको स्तर बढ्छ र यसले सम्पूर्ण शरीरलाई असर गर्न सक्छ । प्रत्येक मानिसलाई कुनै न कुनै समय तनावको सामना गर्नुपर्ने हुँदा यसलाई पूर्णरूपमा रोक्न नसकिने अध्ययनका शोधकर्ता रोबर्ट टाभस्की बताउँछन् ।
तर, रिस, तनाव र नकारात्मक कुरालाई केही हदसम्म कम गर्न प्रयास गर्न सकिए स्वस्थ रहन सकिन्छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |