कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिनुभएको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अहिले देखिएको भाइरसले कडा खालको रहेकाले सर्तकता अपनाउनु आग्रह गर्नुभयो । “पहिल्यैकै भाइरसको नयाँ स्वरुपमा अहिलेको भाइरस देखिएको छ । यसको अर्को मानिसमा सार्न सक्ने क्षमता पनि बढी हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले स्वास्थ्यका मापदण्ड अपनाई भाइरस सर्नबाट बच्नुपर्दछ ।”
भाइरसको पहिलेकै जस्तै लक्षण देखिने गरे पनि मृत्यु हुने दर पनि बढिरहेको उहाँको भनाइ छ । सङ्क्रमितबाट यस भाइरस सार्ने सम्भावना ७० प्रतिशत हुने गरेको छ । सङ्क्रमणबाट बच्न खोपभन्दा पनि भौतिक दूरी कायम राख्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र साबुनपानीले बारम्बार हात धुनु पर्दछ ।
अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले मापदण्ड पालना नगर्दा अहिलेको भाइरस देखिएको बताउनुभयो । उहाँका अनुसार विद्यालय, भीडभाड हुने ठाउँ, पार्टीप्यालेस, गाडी जस्ता ठाउँबाट भाइरस फैलिने गरेको बताउनुभयो ।
अहिले देखिएको भाइरस बालबालिका, युवा र ५० वर्षमुनिका व्यक्तिलाई पनि देखिने गरेको छ । पछिल्लो एक महिनादेखि यस कडाखालको भाइरसले गर्दा बिरामी पनि ह्वात्तै बढेको पाइन्छ । नयाँ खालको भाइरसले गर्दा अहिले दैनिक सङ्क्रमित बढिरहेका छन् । हिजो मात्र ३०३ जना सङ्क्रमित देखिएका छन् ।
अहिले देशभर ८९ जना सघन उपचार कक्ष (सघन उपचार केन्द्र) र १५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । काठमाडौँका सशस्त्र प्रहरी बल अस्पतालमा आइसियुमा नौ, नेपाल प्रहरी अस्पतालमा एक, शुक्रराज ट्रपिकलमा आठ, त्रिवि शिक्षण अस्पतालमा दुई, पाटन अस्पतालमा तीन, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा छ र हम्स अस्पतालमा नौ जनाको उपचार गराइरहेका छन् ।
यस्तै शुक्रराज ट्रपिकल अस्पतालमा चार, शिक्षण अस्पतालमा एक, पाटन अस्पतालमा पाँच र हम्स अस्पतालमा एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा बाँस्तोलाले समुदायस्तरमा यस खालको भाइरस ह्वात्तै बढेको बताउनुभयो ।
उहाँले यस किसिमको भाइरसको लक्षण लामो समयसम्म रहने, यही नै लक्षण हो भन्ने पनि पहिचान गर्न नसकिने बताउनुभयो । सङ्क्रमितलाई चाँडै नै निमोनिया हुने सम्भावना पनि रहेको हुन्छ । पहिलेको भाइरसभन्दा यस भाइरसले १.६ प्रतिशत मृत्युदर पनि बढी गराउने उहाँको भनाइ छ ।
यस्तै कोभिड–१९ को गत वर्ष पाँच प्रतिशत बालबालिका सङ्क्रमित भएका थिए भने अहिले १५ देखि २० प्रतिशत बालबालिका देखिएको उहाँले बताउनुभयो । बालबालिकामा ज्वरो, झाडापखला, रुघा लाग्ने जस्ता लक्षण देखिएका छन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले नेपालमा नयाँ खालका भाइरस बढ्दो रुपमा फैलिरहेको बताउनुभयो । उहाँका अनुसार अहिले नमूना परीक्षण गर्दा २०० भन्दा बढी व्यक्तिमा नयाँ खालका भाइरस रहेको बताउनुभयो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |