वंशाणुगत कारण, शरीरमा पोषणको कमी, प्रदूषण, खराब खानपान, अत्यधिक केमिलक भएको सामग्रीको प्रयोगका कारण धेरै मानिसहरूलाई कपाल झर्ने समस्याले निकै सताइरहेको हुन्छ ।
हालैको एक अनुसन्धानले पत्ता लगाएअनुसार तनाव या मानसिक चिन्ताको कारण कपाल पनि झर्ने गर्छ । आजकलको व्यस्त जीवनमा मानिसहरूसँग खाने र सुत्ने समय हुँदैन । घरपरिवार, सम्बन्ध, कार्यालय, काम, पढाइलगायतका अन्य धेरै कारणले तनावलाई जन्म दिन्छ । हार्बर्ड विश्वविद्यालयका अन्वेषकहरूका अनुसार तनावले अणुहरूलाई असर गर्छ, जसका कारण कपाल झर्न थाल्छ ।
तनावले कपाल झार्नुका साथै उक्त ठाउँमा नयाँ कपालको वृद्धि पनि हुन दिँदैन । तनावका कारण कपाल झरिरहेको छ भने एक मानिस चाँडै टक्लु बन्न सक्छ । तनावका कारण स्टेम सेललाई सक्रिय हुन समय लाग्छ । र, तनावको कारण सेलमा आएको अचानक परिवर्तनले कपालको फोलिकललाई असर गर्ने हार्बर्ड विश्वविद्यालयका अन्वेषकहरूले पत्ता लगाएका हुन् ।
कपाल झर्ने समस्यालाई गहिरिएर बुझ्नका लागि मुसामा अध्ययन गरिएको थियो । मुसामा शल्यक्रिया गरेर तनाव हार्मोन कोर्टिकोस्टेरन उत्पादन गर्ने एड्रेनल ग्रन्थी हटाइएको थियो । अध्ययनको क्रममा मुसामा कपालको वृद्धि भएको देखियो । तर, मुसालाई कोर्टिकोस्टेरनको केही डोज दिँदा कपालको वृद्धिमा कमी आएको पाइयो ।
त्यस्तै, दोस्रो अध्ययनमा केही स्वस्थ मुसालाई नौ हप्तासम्म कोर्टिकोस्टेरनको डोज दिइएको थियो । केही समयपछि ती मुसाहरूमा कपालको विकास पूर्णरूपमा बन्द भएको पाइयो । कपालको फोलिकलमुनि पर्मल प्यापलिया कोष हुन्छ, जसमा तनाव हार्मोन टाँसिन जान्छ । यसका कारण कपालको वृद्धि पूर्णरूपमा बन्द हुन्छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |