युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज साविक विजेता बायर्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)को सामना गर्दैछ । क्वार्टरफाइनलअन्तर्गत पहिलो लेगको उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे हुनेछ ।
उक्त खेल जर्मन क्लब बायर्नको मैदानमा हुनेछ । जसमा घरेलु मैदानमा बायर्न जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । तथानि, पिएसजीविरुद्ध बायर्न दबाबमा देखिएको छ ।
बायर्नका मुख्य स्ट्राइकर रोबर्टो लेवान्डोस्की चोटका कारण यस खेलमा हुनेछैनन् । यस्तै कोरोना सङ्क्रमण भएपछि सर्जी ग्नाब्रीसमेत टिममा छैनन् ।
यता, पीएसजीले भने यस खेलमा नेयमार, केलियन एमबाप्पे र एन्जल डी मारियालाई मुख्य हतियारका रूपमा मैदान उतार्नसक्ने सम्भावना छ ।
पिएसजी यस खेलमा बायर्नसँग बदला लिने दाउमा हुनेछ । गत सिजनको फाइनलमा बानर्यसँग १–० गोलले पराजित भएपछि पिएसजी च्याम्पियन्स लिगको उपाधि जित्नबाट बन्चित भएको थियो ।
हेड टु हेडमा भने बायर्नभन्दा पिएसजी नै बलियो देखिएको छ । बायर्न र पिएसजीबीचको यो दसौँ भेट हुनेछ । यसअघि भएका नौ भेटमध्ये पिएसजीले पाँच पटक जितेको छ ।
रियल मड्रिडपछि पिएसजीसँग नै बानर्य धेरैपटक पराजित भएको छ । बायर्नले रियलसँग दस खेलमा हार ब्यहोरेको छ भने पिएसजीसँग पाँच पटक हारेको छ ।
यस्तै बायर्नले आफ्नो घरमा भएको पछिल्ला तीन पिएसजीविरुद्धको खेल जितेको छ । गत १९९४ मा भएको होमम्याचमा पिएसजीसँग १–० गोलले पराजित भएको थियो । त्यसयता उसले होम म्याचमा जित निकाल्दै आएको छ ।
बायर्नले च्याम्पियन्स लिगको पछिल्ला १९ खेलमा हार ब्यहोरेको छैन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |