विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफूहरू देशको एक मात्र निर्विकल्प शक्ति बनेर उदाउन चाहेको बताएका छन्। पार्टी कार्यालय बखुण्डोलमा सोमबार आयोजित अन्तरक्रियामा मिश्रले नेतृत्व गर्न इमान्दार र क्षमता चाहिने अरू दलमा त्यो नभएको पनि जिकिर गरे।
‘सुरुवाती चरणमा हामी वैकल्पिक हौं। तर देशको निर्विकल्प शक्तिको रूपमा उदाउन चाहान्छौं,’ उनले भने। अर्को प्रसंगमा मिश्रले सरकार परिवर्तन भए त्यो संविधान सम्मत हुनुपर्ने बताए। उनले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्न र अपर्याप्तताहरू पूर्ति गर्ने अधिकार पनि संविधानले दिएको बताए।
‘कि त भनौं यो देशको संविधान ठिक छैन। कि संविधान लोकतान्त्रिक छैन भनौं। लोकतान्त्रिक छ भने त्यसमा भएको अपर्याप्तताहरू पूर्ति गर्ने अधिकार पनि संविधानले दिएको छ,’ मिश्रले भने, ‘संविधानले तय गरेअनुरूप सुसंस्कृत रूपमा यो देशको सरकार परिवर्तन हुनुपर्छ भने त्यो संसदीय प्रक्रियाबाट नै हुनुपर्छ।’
कार्यक्रम अर्का अध्यक्ष मिलन पाण्डेले आफूहरू एकता महाधिवेशनमा केन्द्रित भएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने पनि बताए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |