पानी तान्ने मोटर चोरेको निहुँमा कुटपिट गरी ३० वर्षीया युवकको हत्या गरेको आरोपमा भक्तपुर प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
काभ्रे कुशादेवी घर बताउने ३० वर्षीय कृष्ण गुरुङ भनिने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको अभियोगमा आइतबार प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ५० वर्षीय टेक बहादुर केसी, सोही ठाउँ बस्ने ३२ वर्षीय नविन कोजु, भक्तपुर नगरपालिका-७ बस्ने ३७ वर्षीय बिनोद लाखा, चाँगुनारायण नगरपालिका-२ बस्ने दोलखा भिमेश्वर नगरपालिका-९ घर भएका ३८ वर्षीय कमल खत्री (फुँयाल) र भक्तपुर चाँगुनारायण नगरपालिका-३ बस्ने सुनसरी बर्जु गाउँपालिका-३ घर भएका ३४ वर्षीय सनिस कुमार राय रहेका छन् ।
चाँगुनारायण नगरपालिका-२ बर्खेपाटीमा पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा व्यक्ति नियन्त्रणमा लिएको भनेर प्रहरीलाई सूचना आएको थियो ।
स्थानीयको सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग व्यासी भक्तपुरबाट खटिएको प्रहरीले कृष्ण गुरुङ भनिने व्यक्तिलाई कुटपिटबाट गम्भीर घाइते भएको अवस्थामा फेला पारेको थियो ।
कुटपिटबाट गम्भीर घाइते भएका कृष्णलाई तत्कालै उपचारका लागि भक्तपुर अस्पतालमा पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |