नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गर्दै प्रदेश १ को सरकारकाे मन्त्री बनेका टङ्क आङ्बुहाङलाई पदमुक्त गरेको छ । पार्टी परित्याग गर्दै मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो ।
गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । सांसद पद छाडेर मन्त्री बनेपछि पार्टीले उनलाई कारवाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
‘पार्टीको निर्देशन विपरित मन्त्री बनेपछि पार्टीले पदमुक्त गरिसकेको छ,’आङ्बोेले भने ,‘ आज बस्ने प्रदेशसभा बैठकमा पदमुक्त गरेको जानकारी गराउँछौं ।’
टङ्क आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टिकरण सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएका थिएनन् ।
नेकपा विभाजनमा एमाले प्रवेश गर्दै मन्त्री बनेका आङ्बुहाङको कार्यकाल अब ६ महिनाको मात्रै हुनेछ । गैरसांसदले ६ महिना मात्रै मन्त्री बन्न पाउने प्रावधान छ । तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |