कोरोना भाइरसले चमेरो, मानिस, बाँदरका प्रजाति, बिरालोलगायतमा सङ्क्रमण गराउन सक्ने यसअघि नै पुष्टि भएको थियो ।तर, कोरोना भाइरसले मुसामा पनि सङ्क्रमण गराउन सक्ने हालै गरिएको एक अध्ययनले देखाएको छ ।
मुसामा समेत हुनसक्ने सङ्क्रमणले मानिसमा खासै असर भने पर्ने देखिएको छैन । तर, भाइरसको नयाँ भेरिएन्टले धेरै प्रजातिका जनावरमा भाइरस फैलन सक्ने गुण बढाएको छ । भाइरसमा भइरहेको म्युटेसनले उनीहरूमा छिटो र धेरै परिवर्तन गराइरहेको छ ।
प्रयोगशालामा गरिएको अध्ययनअनुसार सुरुमा चीनको बुहानमा देखिएको कोभिड–१९ भाइरस र युरोपमा फैलिएको बी११७ ले मुसामा सङ्क्रमण गर्न नसकेको वैज्ञानिकहरूको भनाइ छ ।
तर, पेरिसको पास्चर इन्स्टिच्युटका पशु चिकित्सक र मुसा आनुवंशिक विज्ञ डा. जेभियर मोन्ट्यागुटेलीका अनुसार पछिल्लो समय अफ्रिकामा देखिएको बी१.३५१ र ब्राजिलको पी१ भाइरसले मुसामा तीव्ररूपमा सङ्क्रमण फैलाउन सक्ने देखिएको हो ।
जङ्गलमा रहने मुसामा हालसम्म सङ्क्रमण देखिएकको छैन । भाइरसको नयाँ प्रकार मुसाबाट मानिसमा, मानिसबाट मुसामा वा मुसाबाट मुसामा सर्न सक्ने जोखिममाथि अध्ययन भइरहेको छ । कोरोना भाइरस चमेरोबाट कुनै एक जनावरमार्फत मानिसमा फैलिएको अनुमान गरिएको थियो । योसँगै अन्य जनावरमा पनि सोही सङ्क्रमण फैलिनु जोखिमयुक्त हुन सक्छ ।
विभिन्न प्रजातिमा जनावरमा भाइरसको सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमित जनावरको प्रजाति नै विनाश हुने, सङ्क्रमण फैलिँदा हुने म्युटेसनले हानिकारक नयाँ भेरिएन्ट उत्पादन हुने जोखिमसमेत बढाउनेछ । जुन हाल विकास र वितरण गरिएका खोपले धान्न सक्दैन । छोटो समयमै भाइरस विभिन्न प्रजातिका जनावरमा तीव्ररूपमा फैलनु र नयाँ भाइरस पहिलेको तुलनामा थप सङ्क्रामक हुनाले महामारीको जोखिम लामो समयसम्म कायम रहने विज्ञहरूको भनाइ छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |