२१ चैत, काठमाडौं। विराटनगरस्थित लाइफगार्ड अस्पतालको आइसियू कक्षमा उपचाररत् एक बिरामी भागेर आफैं घर पुगेका छन्।आइसियू कक्षको शौचालयको झ्याल फोडेर देवानगञ्ज-१ सुनसरीका २१ वर्षीय विनोदकुमार मेहता भागेर शुक्रबार बेलुका घर पुगेका हुन्।
तर, यो घटना प्रहरीलाई भने रिपोर्ट गरिएको छैन। मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले भने, ‘यो घटनाबारे हामीलाई अस्पतालले जानकारी दिएको छैन।’अस्पताल प्रशासनका निरज श्रेष्ठका अनुसार उनलाई शुक्रबार नै डिस्चार्ज गर्ने तयारी भइरहेको थियो।
‘तर, उनी आफैं भागेर घर पुगेपछि हामी पनि आश्चर्यमा पर्यौं,’ श्रेष्ठले भने। विष सेवनपछि घाइते भएका मेहतालाई बुधबार लाइफगार्ड अस्पतालमा उपचारका लागि लगिएको थियो।
अस्पतालको आइसियू कक्ष अति संवेदनशील मानिन्छ।‘शौचालयको झ्यालको तारजाली फोडेर उनी भागेछन्,’ श्रेष्ठले भने। उनको उपचार डा. अरबिन्द देवले गरिरहेका थिए। तीन दिनदेखि आइसियुमा उपचाररत् स्वस्थ हुँदै गएपछि डिस्चार्जको तयारी भइरहेको थियो।
अहिले मेहताका परिवार उनलाई लिएर अस्पताल जाँदैछन्। ‘अस्पताल आएपछि विरामीको अवस्था हेरेर परिवारको जिम्मा लगाउँछौं,’ श्रेष्ठले भने।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |