नेपालबाट हराएका तीनवटा प्राचीन मूर्ति अमेरिकी सरकारले आज (शुक्रबार) नेपाललाई हस्तान्तरण गरेको छ ।
गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति हस्तान्तरण गरिएको हो ।
न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले जनाएको छ ।
गैरकानूनीरूपमा प्राचीन सामग्रीको ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट अमेरिकी गृहमन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने अमेरिकी सरकारको नीति थियो ।
चार वर्षको अनुसन्धान एवं कानूनी प्रक्रिया पूरा गरी मूर्ति नेपाललाई प्रदान गरिएको हो ।
हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकामा नेपालले अमेरिकी सरकार र सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता सत्कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।
त्यस अवसरमा अमेरिकी अधिकारीलाई खादा ओढाएर सम्मान पनि गरिएको महावाणिज्य दूतावासले जनाएको छ । हस्तान्तरण गरिएका मूर्ति यथाशक्य चाँडो नेपाल ल्याइने भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |