२० चैत, काठमाडौं । अमेरिका सरकारले नेपालवाट हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको छ ।
न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले बताएको छ ।
गैरकानूनीरूपमा प्राचीन सामग्रीको ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट अमेरिकी गृहमन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने अमेरिका सरकारको नीतिअनुसार हराएका मूर्ति पुनः प्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो ।
हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकामा नेपालले अमेरिकी सरकार र सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता सत्कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।
हस्तान्तरण गरिएका ती मूर्ति यथाशक्य चाँडो नेपाल पठाइने जनाइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |